हेटौंडा औद्योगिक क्षेत्रमा अवैधानिक भारतीय लगानीकोे उद्योग

हेटौंडा– हेटौंडा औद्योगिक क्षेत्रमा एक भारतीय लगानीको उद्योगले डेढवर्षदेखि अवैधानिक उत्पादन गरिरहेको खुलेको छ । साबुन, सर्फ र कपालमा लगाउने तेल उत्पादन गर्दै आएको आरएम केमिकल्स नेपाल प्रालिले २०७४ असोज ६ गते हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग जग्गा बहालको सम्झौता गरी उत्पादन थाले पनि हालसम्म उद्योग विभागबाट अनुमति लिएको प्रमाण भने पेश गरेको छैन । वातारवरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (आईईई) पनि नगराएको पाइएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पटक पटक ताकेता गरेपछि उद्योगले गत वैशाख १२ गते मात्रै उद्योग विभागबाट अनुमतिपत्र लिएको प्रमाणपत्र भेटिएको छ । यद्यपी औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा हालसम्म आवश्यक कागजात पेश गरिएको छैन ।

‘तीन महिनाभित्र कागजात पेश गर्ने भनी २०७४ असोजमा आरएम केमिकल्ससँग सम्झौता भए पनि हालसम्म आवश्यक कागजात प्राप्त भएको छैन, हामीले गत चैत २७ गते पनि पत्र काटेर कागजात ल्याउन भनेका छौं ।’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने । ‘अझै आवश्यक कागजात पेश नगरे हामी कानुनी उपचारको प्रक्रियामा जान्छौं ।’

२०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा आरएम केमिकल्स् दर्ता भएको देखिएको छ । तर, उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएपनि दुई महिनाअघि मात्रै इजाजत लिएको खुलेको छ ।

भर्खरै मात्र उद्योग विभागबाट अनुमति लिएको प्रमाणपत्र भेटिए पनि आईईई प्रतिवेदन भने अझै तयार गरिएको छैन । आईईई बिनै अनुमति दिएको भेटिएपछि विभागले जारी गरेको प्रमाणपत्रकै वैधानिकतामाथि प्रश्न उठेको छ । उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नुपूर्व नियमानुसार आईईई गर्नुपर्ने प्रावधान पूरा नगरी उद्योग विभागले नै प्रमाणपत्र दिइएको भेटिएको हो ।

उद्योगका जनरल म्यानेजर जेबी खरालले भने उद्योग विभागको अनुमतिको प्रमाणपत्र भर्खरै लिइएको भन्दै आफूहरु वैधानिक भएको दावी गरे । आईईई प्रतिवेदन भने नबनाइएको उनले स्वीकार गरेका छन् ।

उनले वातावरणीय प्रभाव मूल्यांकन उद्योग विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले नै गर्नुपर्ने दावी गरे । उनले आफूहरुले यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरेको र २०१७ नोभेम्बरदेखि उत्पादन गरेको बताए ।

उद्योगमा हाल १ सय २४ जना मजदुर कार्यरत रहेका छन् । युनिलिभर नेपालसँग तेस्रो पक्ष सम्झौता गरी आरएम केमिकल्सले साबुन, सर्फ र कपालमा लगाउने तेल उत्पादन गर्दै आएको छ । उद्योगमा कार्यरत कर्मचारीले पनि हालसम्म नियुक्तिपत्र नपाएको गुनासो गरेका छन् ।