हेटौडा–उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणका लागि गरेको अभिमुखीकरण कार्यक्रम मनोमानी ढंगले सञ्चालन गरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन मकवानपुरले आपत्ति जनाएको छ ।

जिल्लाको साविक उच्च माध्यामिक तहका शिक्षकहरुको साझा युनियन मकवानपुरलाई जानकारी नदिई मनोमानी ढंगले आधारभूत र कक्षा ९ र १० मा अध्यापनरत शिक्षकहरुलाई एकलौटी रुपमा बोलाई अभिमुखीकरण कार्यक्रम गरेको भन्दै युनियनले ध्यानाकर्षण गराएको छ । राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा कार्यालयमा युनियले बिहीबार ज्ञापनपत्र बुझाउँदै पुनः सर्वपक्षीय सहभागितामा अभिमुखीकरण गर्न माग गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेलाई भेटी युनियनका अध्यक्ष रमेश रिजाल, सचिव कृष्णप्रसाद पोखरेललगायतले ज्ञापनपत्र बुझाएका हुन् । शिक्षकलाई बाहेस गरी गरिएको कार्यक्रम मान्य नहुने र कक्षा ११ र १२ मा अध्यापनरत अस्थायी र अनुदान दरबन्दीमा कार्यरत ५७ जना शिक्षकहरुलाई अविलम्ब अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न ज्ञापनपत्रमा माग गरिएको छ । मागलाई वेवास्तार गरिए युनियन र सम्पूर्ण साविक उच्च मावि तहमा कार्यरत शिक्षकहरु उत्तरपुस्तिका परीक्षण बहिष्कार गर्न बाध्य हुने चेतावनी दिइएको छ ।