प्रहरी पुगेपछि नाबालिकाको बिहे रोकियो
बारा, चैत ६ गते । प्रहरी पुगेपछि नाबालिकाको बिहे रोकिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१५ बकुलहटोलकी १३ बर्षिय नाबालिकाको बिहे भई रहेको सूचना आएपछि त्यस ठाउँमा प्रहरी पुगेपछि बिहे रोकिएको छ । स्वर्गिय ओलायत अंसारीको १३ बर्षिय छोरीको बिहे रौतहट जिल्लामा भई रहेको तथा जयन्ती बुधवार राती आई रहेको खबर प्रहरीमा आएपछि त्यसलाई पक्राउगर्न गएको प्रहरी टोलीलाई देखेर बाटोबाट नै जयन्ती फिर्ता गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो । मुस्लिम समुदायमा नाबालिकाको बिहे आज राती हुने सूचना आएपछि कलैया स्थित बसपार्क प्रहरी चौकीका प्रहरी नायब निरीक्षक दीपबहादुर राणाको कमाण्डमा गएको प्रहरी टोलीलाई देखेर स्थानीयहरुले ती जयन्तीलाई भगाएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । सरकारले केटाकेटी दुबैको बिहे २० बर्षपछि गर्न कानून निर्माण गरेपनि तराईका अधिकाँस जिल्लाहरुमा यसरी लुकेर नाबालिक केटाकेटीहरुको बिहे गर्दै आई रहेकाले त्यसलाई रोक्न प्रहरीले सकृयता देखाएको बारा प्रहरीले जनाएको छ ।