रुपचन्द्रको स्मृतिमा बसीफाँटमा विशेष कार्यक्रम हुँदै

हेटौंडा–थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ ।

आगामी असार ६ गते बसीफाँट माविमा रुपचन्द्र विष्टको व्यक्तित्व र उनले चलाएको थाहा आन्दोलनबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको छ । रुपचन्द्र विष्टका अनुयायी एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले रुपचन्द्र विष्टको व्यक्तित्व एवम् राजनीतिक तथा सामाजिक योगदानबारे बोल्ने कार्यक्रम राखिएको विद्यालयका शिक्षक यश लामाले जानकारी दिए ।

सोही अवसरमा प्रतिष्ठित साहित्यकारको सहभागितामा कविता बाचनको कार्यक्रम पनि राखिएको उनले बताए । मकवानपुर र काठमाडौंका करिब दुई दर्जनभन्दा बढी प्रतिष्ठित साहित्यकारले कविता सुनाउने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ ।

रुपचन्द्र विष्टको बारेमा विद्यार्थीलाई जानकारी गराई विद्यार्थीमा सामाजिक जागरण पैदा गराउनको लागि कार्यक्रम आयोजना गरिएको लेकाली बसीफाँट माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोद लामाले जानकारी दिए । विद्यार्थीलाई साहित्यमा रुचि अभिवृद्धि गराउनको लागि पनि कार्यक्रम फलदायी हुने उनको अपेक्षा छ । बसीफाँटले गतवर्ष पनि विद्यालय प्राङ्गणमा कवि सम्मेलनको आयोजना गरेको थियो ।