विप्लव मकवानपुर इन्चार्ज ज्वाला आज छुट्दै

हेटौंडा–गत चैत २८ गते पक्राउ गरिएका विप्लव नेतृत्वको नेकपा मकवानपुरका ईन्चार्ज बीरबहादुर घलान ज्वाला आज रिहा हुने भएका छन् । जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि ज्वालालाई आज छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ । तोकिएको रकम बुझाएपछि कानुनतः रिहा गरिए पनि तत्कालै फेरि पक्रिएर अर्को मुद्दा लगाउने तयारी प्रहरीको रहेको छ ।

ज्वालाले हात हतियार मुद्दाको जरिवानाबापत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका छन् । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको छ । उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले आज रिहा गरिने बताए । तर, ज्वालाको अर्को मुद्दा पनि बाँकी रहेकाले उनलाई रिहा भए लगतै पुनः पक्राउ पर्न सक्ने राणाले बताए । नेपाल बन्दको क्रममा मकवानपुरको नेवारपानी नजिक गाडीमा अगजनी गरेको भन्दै प्रहरीले पुनः मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।