कोरोनाको असर अर्थतन्त्रमा पनि असर
बारा, बैशाख १४ गते । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्म सार्वजनिक स्वास्थ्यको संकटबाट जोगिएको नेपालमा कोरोनाको असर अर्थतन्त्रमा पनि असर पर्न थालेको छ । विशेषगरि मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज आसपासमा रहेका औद्योगिक कलकारखानाहरु कच्चा पदार्थको अभावमा बन्द हुने क्रम शुरु भएको छ । बाराको पथलैया वीरगंज औद्योगिक करिडोरमा बहुराष्ट्रिय उद्योगहरु सहित झण्डै एक हजार भन्दा बढी ठूला साना उद्योगहरु संचालित छ भने ति उद्योगहरुमा ७० देखि ८० हजार मजदुरहरु कार्यरत रहेका छन् । लकडाउन पछि दैनिक आपूर्तिका सामान उत्पादन गर्ने खाद्य उद्योग तथा औषधी जन्य उद्योगहरु आंशिक रुपमा सञ्चालन भई रहेको र लकडाउनका कारण अन्य उद्योग समेत बन्द हुन नदिन सरकार र उद्योगी व्यवसायी विच आपसी समन्वय हुनु पर्ने कुरामा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले बताए । कोरोना भाइरसको महामारीले बारा, पर्सा जिल्लामा रहेका उद्योगमा आश्रित हजारौं मजदुरको दैनिकीलाई समेत खल्बल्याउन थालेको छ । कोरोना धक्काको असर उद्योगमा आश्रित मजदुरहरु र उनीहरुका परिवारले भोग्न थालेका छन । लकडाउनमा काम गरी रहेका मजदुरहरुको अवस्था बुझनु पर्ने र उनीहरुलाई पनि राहतको व्यवस्था गरिनु पर्ने माग नेपाल कारखाना मजदुर संघका केन्द्रिय अध्यक्ष अमृत लाल जोशीले गरे । औद्योगिक कच्चा पदार्थ नपाएर उद्योगहरु बन्द हुन लागेको बेला यता वीरगंजको सिर्सिया सुख्खाबन्दरगाहमा रेल मार्ग हुदै तेश्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थ तथा अन्य सामग्री थुप्रिएको छ । हाल बन्दरगाहमा झण्डै ३ हजार ४ सयको हाराहारीमा सामान भरिएका कन्टेर आएका छन् । कन्टेनरहरु भन्सार एजेन्ट र हिमालयन ट्रमिनल सँग समन्वय गरेर पठाउने काम अगाडी बढेको सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए ।