दाल कालोबजारी गर्ने तीन उद्योगका सञ्चालकसहित पाँच पक्राउ
बारा, बैशाख १४ गते । दाल कालोबजारी गरेको अभियोगमा तीन वटा उद्योगका सञ्चालक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउपालिका वडा नम्बर–४ चैनपुरस्थित रहेका नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सञ्चालक मोहनलाल अग्रवाल उनका प्रतिनिधि सुनिल शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित रहेका कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह र उनका प्रतिनिधि सुरेश साह तथा लिपनीमाल–४ स्थित रहेका महावीर ओभरसिज प्रा.लि.का प्रतिनिधि संतोष झालाई पक्राउगरी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनीहरुले मसुरोको दाल ८० देखि ८५ रुपियाँ प्रतिकिलो पर्ने दाल लकडाउनको मौका छोपी तीन वटै उद्योगले ९४ देखि ९८ रुपियाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा उद्योगी सहित उनका प्रतिनिधिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता मिश्रले बताए । पक्राउ परेकाहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ । उनीहरुको बिरुद्धमा प्रमाण जुटाउन ढिलो भएकाले आइतबार साँझ साढे पाँच बजे पक्राउ गरिएको कारण सोमबार जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थप गराई कारवाही प्रकृया अगाडी बढाईने बारा प्रहरीले जनाएको छ ।