सत्य हैन रहेछ मिडियाका यी चार समाचार, यस्तो छ वास्तविकता

काठमाडौं, जेठ ११ । केही दिनयता सरकारविरुद्ध विपक्षी दलहरु मात्रै होइन, मूलधारका सञ्चारमाध्यमले समेत दैनिक ‘फेक समाचार’ उत्पादन गरिरहेका छन । प्रचण्ड निवास खुमलटार, देउवा निवास बुढानिलकण्ठ, माधव निवास कोटेश्वरसहित आधा दर्जन स्थानमा उत्पादन हुने यी अफवाहपुर्ण सामग्री मुलधारका मिडियामा जस्ताको तस्तै समाचारका रुपमा आउन थालेका छन । नागरिकलाई भ्रम छर्नका लागि पछिल्ला दिनमा भइरहेका यी अपराधपुर्ण कामले पत्रकारिताको परिभाषाभित्र पर्ने यल्लो जर्नालिजम पनि आफै लज्जित हुने देखिएको छ । हुँदै नभएको कुरा प्रचार गरेर नेपाली मिडिया मुलुकबिरुद्ध नै लागेको आभाष पनि दिन लागेका छन । सत्य स्थापित भई आफ्नो समाचार गलत भए पनि क्षमा माग्ने चलन मिडियामा विकास भएको छैन । जस्को पछिल्लो चार उदाहरणलाई लिन सकिन्छ ।

पहिलो, राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता अध्यादेश जारी गर्नुभयो । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी भयो । तर सरकारले भारतीयलाई नागरिकता दिन अध्यादेश ल्याएको अफवाह फैलाइयो । राजनीतिक दलले लगाउने आरोप त स्वभाविक हो, तर मिडियाले पनि सिधै त्यही आरोप लगाए । समाचारमा मात्रै हैन, सोसल मिडियामा केही पत्रकारले दलका नेताले भन्दा पनि अघि सरेर तर्क गरे ।

मिडियाले लगाएको आरोप २४ घण्टा पनि टिक्न सकेन । जबकी नेपालको संविधान र प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकभन्दा एक शब्द तलमाथि भएको थिएन । त्यसो त अहिलमात्रै होइन, विगतमा पनि सरकारमाथि राजनीतिक दलले प्रहार सुरु गर्नेवित्तिकै मिडिया झन् अघि सर्ने गरेका उदाहरण प्रशस्तै छन । जेठ १० गते पूर्वगृहमन्त्री भीम रावलले नागरिकता अध्यादेश आएको भोलिपल्ट वीरगन्जमा नागरिकता लिनको भीड लागेको ट्वीट गर्नुभयो ।

एक वर्षअघिको एउटा भिडियोलाई सोसल मिडियामा शेयर गरेको भिडियो राखेर रावलले ट्वीट गरिहाल्नुभयो, ‘वीरगञ्जममा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी शर्मा ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्दक गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो कि रु नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ ! ।’

रावलले जानाजान अफवाह फैलाउन यो काम गर्नुभयो । तर मिडियाले त्यो होइन भन्न सकेन । धमाधम समाचार पोस्ट गरे । जबकी अधिकांश जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण रोकेकोसमेत ख्याल नगरी रावलको ट्वीट आयो, मिडिया दगुर्न थालिहाले । रावलले २४ घण्टा नबित्दै ट्वीट हटाउनु पर्यो । ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु,’ आफ्नो गलत कुरा सच्याउँदै रावलले भन्नुभयो । तर गल्ती हुँदा पनि क्षमा माग्नुको साटो उल्टै आफ्नो गल्तीमा पनि सरकारमाथि नै दोषरोपण गर्नुभयो ।

फेक समाचार उत्पादन श्रृंखला त्यतिमै रोकिएन । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले चिनियाँ अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेको भन्दै भाइरल बनाइयो । डोटीको ग्रामीण वस्तीमा रहनुभएका आलेले काठमाडौंमा समाचार भाइरल भएको पत्तै पाउनुभएन । आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट मात्रै गर्नुभएन, आफूले खरिद गरेका सामानको बिल नै सार्वजनिक गरिदिनुभयो ।

‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ,’ उहाँले भन्नुभयो । यो पनि जानाजान गरिएको थियो । जेठ १० गते साँझ एक प्रतिष्ठित अनलाइनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको समाचार सार्वजनिक भयो । त्यसमा कुनै स्रोत प्रमाण छैन, कसैको भनाइ पनि राखिएको छैन । समाचार पुष्टि भएन । यो पनि जनतालाई भ्रम पार्न गरिएको उत्पादन थियो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको विज्ञप्ती जारी गर्नुभयो ।

‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरायसयुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो,’ विज्ञप्तीमा भनिएको छ । यी चार घटनाले नेपालका राजनीतिक दल, तिनका नेता कार्यकर्ता मात्रै होइन, मिडिया समेत जानाजान अफवाह फैलाउन लागेको तर तथ्य ठीक उल्टो भएको देखाएको छ ।साभार जनता टाइम्स