संक्रमितको उपचार र खोप ल्याउने काममा कुनै किसिमको ढिलाई नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईं जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै एवं कोभिड १९ निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत प्रष्ट पार्नुभयो । यस्तै जुनसुकै देशबाट भएपनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन उहाँले दिनुभयो । ‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाईं जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्नेभयो,’ उहाँले भन्नुभयो ।

सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धीअध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उहाँले बताउनु भयो । यसका साथै प्रधानमन्त्री ओलीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताउनुभयो ।

‘पालिका–पालिकासम्म समन्वय गरी कति संक्रमित छन, होम आइसोलेशनमा कति बसेका छन ? कति जँचाउन आएका छन ? कति आएका छैनन ? तिनको अवस्था के छ भन्नेसम्मको पूर्ण जानकारीदेखि हामीसँग सुुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस भन्नेतर्फ ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीको भनाई थियो । उपकरण र संशाधनको तत्काल आपूर्तिका लागि केन्द्र र स्वास्थ्य मन्त्रालयको खरिद युनिटबीच समन्वय हुनेपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएरसमेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

यसका साथै प्रधानमन्त्रीले कतिपय स्वास्थ्य संस्थामा आवश्यक नभएको उपकरण र संशाधन रहेको, उपकरण भएपनि सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको जस्ता समस्यातर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।साभार जनता टाइम्स