अति आवश्यक बाहेकका सवारी संचालनमा प्रतिबन्ध

पर्सा, २५ बैशाख । बीरगंजमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएसँगै आजबाट स्थानिय प्रशासनले वीरगंजको अधिकांश क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । स्थानिय प्रशासनले महानगरपालिकाको वडा नम्बर १,२, ३ र वडा नम्बर १६ को इनर्वा क्षेत्रलाई शिल गरेको छ । महानगरपालिका भित्र प्रवेश गर्ने राजमार्ग तथा सहायक मार्गमा सवारी साधन संचालनमा प्रतिबन्ध लगाईएपनि नगरवासीहरुलाई दैनिक आपूर्तिको खाद्यान्न लगायत अत्यावश्यक सामग्री नजिकैको किराना पसल तथा खाद्य सामग्री विक्री गर्ने पसलबाट खरिद गर्न प्रहरी प्रशासनले नगरवासीसँग अनुरोध गरेको छ । दैनिक आपूर्तिका सामान खरिद गर्न नजिकैको पसलबाट जुन सुकै समयमा पनि सकिने र ग्राहकको आग्रहमा केही समयका लागि पसल खोलेर सामान दिनको लागि प्रहरीले अवरोध नगर्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिए ।