वीरगंजमा एक सय ३० को पहिचान, ८१ जनाको थ्रोट स्वाब संकलन

पर्सा, २५ बैशाख । वीरगंजमा एउटै परिवारमा २ महिने शिशु सहित १७ जनामा एक साथ कोरोना संक्रमण देखिएपछि संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका र भेटघाट भएकाहरुको स्वाब संकलन कार्य तिव्र रुपमा भइरहेको छ । अहिले नेपाल प्रहरीले बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा संक्रमित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम तिव्र रुपमा अगाडी बढाई रहेको छ । टोलीले संक्रमित व्यक्तिको सम्पर्क र भेटघाट भएका १ सय ३० व्यक्तिहरुको पहिचान गरि स्वाब संकलनका लागि नारायणी अस्पताललाई जानकारी गराएको छ । संक्रमितको सम्पर्कमा आएका १ सय ३० जना मध्ये एउटै टोलमा बस्ने ८१ जनाको थ्रोट स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनले वीरगंजमा चार वटा टोली परिचालन गरी स्वाब संकलन गरिएको बताउदै बीरगंजको शिल गरिएको वडा नम्बर १, २, ३ र १६ को इनर्वा क्षेत्रमा क्लोज कन्टयाक्टमा आएकाहरुको दोश्रो चरणमा परिक्षण गरिने जानकारी दिए । बीरगंजको नारायणी अस्पतालले करिब ८ सय जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरेकोमा २८ जना संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए ।