हुलाकी सडक चार लेन बनाउनु पर्छ–पुर्व मन्त्री साह

रौतहट, १९ बैशाख– हुलाकी सडक चार लेनको बनेपछि मात्र मधेशको विकासले फडको मार्ने पुर्व शहरी विकास मन्त्री प्रभु साहले बताउनु भएको छ ।

तराई मधेशकै लाईफलाईनको रुपमा रहेको हुलाकी सडकलाई चार लेनमा स्तरोन्ती गर्न आफुले पहल गरीरहेको उहाले जानकारी दिनु भयो ।

नेकपा एमालेले बौधीमाई नगरपालिका ६ पिपरियामा सोमवार आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी समिती सदस्य समेत रहेका पुर्व मन्त्री साहले हुलाकी सडकको स्तरोन्ती बिना तराई मधेशको विकास हुन नसक्ने ठोकुवा समेत गर्नु भयो ।

पंचायतकाल देखी नै अलपत्र परेको हुलाकी सडकलाई एमालेको नेतृत्वमा बनेको सरकारले कालोपत्रे गराएको उहाले जानकारी दिनु भयो ।

हुलाकी सडक कालोपत्रे भएपनि बढदो सवारी चापलाई अहिलेको सडकले धान्न नसकेको उहाले बताउनु भयो ।

‘हुलाकीको विस्तार र स्तरोन्तीबाट नै मधेशको मुहार फेरिन्छ,’ उहाले भन्नु भयो, ‘विकासको लागी एमालेलाई नै भोट दिएर जिताउनु पर्छ ।’ मधेशको विकासको निम्ती सोच्ने एक मात्र पार्टी एमाले भएको उहाले बताउनु भयो ।

उक्त अवसरमा एमालेका उम्मेदवार त्रिभुवन साह (अमरजी)ले आफु जिते बौद्धीमाई नगरपालिकाको मुहार फेरिदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विकासमा पछाडी परेका नगरपालिकाको सबै वडा, टोलमा खानेपानी, सडक ढलान, स्वास्थ्य सुविधा, शिक्षा, प्रविधी लगायतको सुविधा पुर्याउने आश्वासन उहाले दिनु भयो ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम प्रदेश सांसद कुन्दन कुशवाहा, एमालेका मधेश प्रदेश कमिटी सदस्य मुक्तीनारायण मिश्र, मनोज यादव, बौद्धीमाई नगरपालिकाका उप प्रमुख प्रेमलता कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

एमालेका बौद्धीमाई नगरपालिका वडा नं. ६ का वडा कमिटी अध्यक्ष लखिन्दर कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।