२६ बर्षदेखि फरार ११ अभियुक्त पक्राउ

बारा, ११ पुस । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा फरार ११ जनालाई शुक्रवार पक्राउ गरेको छ । बारा प्रहरीले तत्कालिन पुनरावेदन अदालत हेटौंडाको २०५० फागुन १९ गतेको फैसलामा काठ चोरी मुद्दामा फरार रहेका ३ जना अभियुक्तलाई २६ बर्ष पछि पक्राउ गरेको हो । काठ चोरी मुद्दामा फरार रहेका कोल्हवी नगरपालिका वडा नम्बर ३ का नाथु चौधरी, सुरेन्द्र चौधरी, तुलसी चौधरीलाई पक्राउ गरी वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताउनु भयो । त्यसैगरी अवैध लागु औषध र कुटपिट मुद्दामा जरिवाना भई फरार रहेका बिश्रामपुरका सैनोदिन मिया, रंजित साह तुरहा, महिन्द्र साह, शंकर प्रसाद साह, करैयामाई गाउँपालिका ६ बस्ने हनुमान राउतलाई समेत आजै पक्राउ गरी अदालतको आदेशमा वीरगंज कारागार चलान गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । यता बारा जिल्ला अदालतको २०७४ बैशाख १४ गतेको आदेशले लेनदेन मुद्दामा ६ महिना कैद ठहर भई फरार रहेका सुवर्ण गाउँपालिका वडा नम्बर २ बस्ने रामजिवन यादवलाई आजै पक्राउ गरि अदालतको आदेश अनुसार कैद भुक्तानका लागि वीरगंज कारागार पठाईएको खनालले बताउनु भयो ।