नेपालमा बज्जिका भाषाको पहिलो व्याकरण सार्वजनिक

आरके श्रीवास्तव । रौतहट । आषाढ १७ गते
नेपालमा बज्जिका भाषाको पहिलो व्याकरण सार्वजनिक गरिएको छ । बन्दाबन्दीको अवस्थामा औपचारिक कार्यक्रम नगरीकनै नेपालीय बज्जिका भाषाको पहिलो व्याकरण रौतहटको गरुडाबाट सार्वजनिक गरिएको हो ।
गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी तथा प्रकाशकका तर्फबाट पत्रकार मदन ठाकुरले संयुक्त रुपमा कृतिलाई सार्वजनिक गरेका हुन् ।
कृतिलाई सार्वजनिक गर्दै मेयर यादवले आफ्नो मातृभाषाको पहिलो व्याकरणलाई सार्वजनिक गर्ने ऐतिहासिक अवसर आफूलाई प्राप्त भएकोमा खुसी लागेको बताउँदै बज्जिका भाषाको विकासले एउटा ठोस दिशा समात्ने विश्वास प्रकट गरेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार देशको सातौँ ठूलो र प्रदेश नम्बर २ को तेस्रो ठूलो मातृभाषाको रुपमा बज्जिका देखिए पनि यसको आफ्नो व्याकरण प्रकाशन हुन सकेको थिएन । बज्जिका भाषाका अभियन्ता तथा साहित्यकारद्वय सञ्जय साह मित्र र रामअधार पासवानले संयुक्त रुपमा तयार पारेको कृतिको प्रकाशन गढीमाई नगरपालिकाका नागेन्द्र यादव र मदन ठाकुरले गरेका छन् ।
बज्जिका व्याकरण सार्वजनिक गर्दा बज्जिका साहित्यकार किशुनदयाल यादव तथा हेटौँडाका साहित्यकार राम अविकास र व्याकरणकार सञ्जय साह मित्रको उपस्थिति रहेको थियो ।
नेपालमा बज्जिका भाषाको पहिलो कृतिका लेखक मित्रको नवौँ कृतिको रुपमा बज्जिका व्याकरण आएको हो । मित्रको बज्जिका भाषा, साहित्य तथा अनुवाद गरी छ वटा कृति प्रकाशित छन् भने नेपाली भाषामा तीन वटा कृति प्रकाशित छन् । देवनागरी लिपिमा रहे पनि बज्जिका व्याकरण स्थानीय बज्जिका भाषामा नै लेखिएको छ ।
बज्जिका व्याकरणको प्रकाशन भएपछि बज्जिका भाषा र साहित्यले एउटा निश्चित मार्गदर्शन पाउने विश्वास आफूले लिएको साहित्यकार श्रीकृष्णले प्रतिक्रिया दिएका छन् ।