बारम्बार हाकिमको सरुवा,मन्त्री त्रिपाठीको राजीनामा मागीयो


रौतहट । अषाढ १
रौतहटको एक स्थानीय तहमा डेढ महिनाभित्र ५ जना प्रशासकीय अधिकृतको सरुवा भएको छ । छिटोछिटो कर्मचारीको सरुवा भएपछि स्थानीय जनप्रतिनिधीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठीको राजीनामा मागेका छन् ।
स्थानीय देवाही गोनाही नगरपालिकामा डेढ महिनाको अवधिमा ५ जना प्रशासकीय अधिकृतको सरुवा भएको भन्दै उपप्रमुख परनिया देवी पटेलसहित १५ जना जनप्रतिनिधिहरुले मन्त्री त्रिपाठीको राजीनामाको माग गरेका हुन् । मन्त्रालयले सो नगरपालिकामा प्रशसकीय अधिकृतका रुपमा गत बैशाख १ गते सिकेन्द्र साहको सरुवा गरी भोजबहादुर एडीलाई पठाएको थियो । एडीले काम सुरुगरेको एकहप्ता नबित्दै बैशाख १४ मा उनको सरुवा भयो र बिजय कार्कीलाई मन्त्रालयले पठायो ।
बैशाख १८ गते हाजिर भएर काम सुुरुगरेका कार्कीलाई मन्त्रालयले जेठ २८ गते सरुवामनोज कुमार रजकलाई पठायो छ । तर, रजक नगरपालिकामा हाजिर हुन नपाउँदै उनको स्थानमा एकजना नायव सुब्बालाई कार्यकारी तोकेको सूचना आएको छ ।
कोरोना कहरका बेला चुस्त दुरुस्त काम गर्नुपर्ने भएपनि कर्मचारी सरुवाका कारण कम हुन नसकेको जनप्रतिनिधिहरुको भनाई छ । मन्त्री त्रिपाठीले कमिशनका आधारमा छिटोछिटो कर्मचारी परिवर्तन गरेको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आरोप छ । उनीहरुले मन्त्री त्रिपाठीले राजीनामा नदिए प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्न आग्रह समेत गरेका छन् ।
उनीहरुले नगरपालिकाको प्रशासकीय अधिकृत सरुवामा मन्त्री स्तरबाट भइरहेको अदृष्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन प्रधानमन्त्रीलाई ठोस कदम चाल्न सुझाव समेत दिएका छन् । नगरपालिकाको समस्या समाधान गर्न सरकारले वास्ता नगरे कार्य अवधिभरी सम्पूर्ण काम बन्द गर्ने उपप्रमुख पटेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।