दुई ठाउँमा भएको बस, ट्रकको ठक्करले आमाछोरा सहित तीनको मृत्यु
आर्दशवाणी संवाददाता । बारा, ५ मंसिर । बाराको दुई ठाउँमा भएको बस, ट्रकको ठक्करले आमाछोरा सहित तीन जनाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ को पथलैया हेटौंडा सडक खण्डको ४ नम्बर पुल नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दिदा आमाछोराको ज्यान गएको हो । ज्यान जानेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ बस्ने २६ बर्षिया तिर्थकुमारी राई र निजकै एक बर्षे छोरा आहान चौधरीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । काठमाण्डौबाट चन्द्रपुर आउदै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना ५ ख ९०५५ नम्बरको ट्रकले बिहिवार साँझ छ बजे पछाडीबाट ठक्कर दिदा मोटरसाइकलमा सवार आमाछोराको घटनास्थलमै मृत्यु भएको छ भने, मोटरसाईकल चालक मृत्तकको श्रीमान २८ बर्षे राकेश चौधरी गम्भिर घाईते भएका छन् । घाईते चौधरीको हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । ट्रक प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाको नियन्त्रणमा रहेपनि चालक फरार रहेको बारा प्रहरीले जनाएको छ । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१ महेन्द्र राजमार्गको पुर्वटोल स्थित यात्रुबाहक बसको ठक्करबाट बिहिवार साँझ छ बजे मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–१ निवासी ६० बर्षे आइतमान लोप्चन रहेको बारा प्रहरीले जनाएको छ । बीरगंजबाट रौतहटको समनपुर तर्फ जाँदै गरेको ना ४ ख ५३२० नम्बरको यात्री बाहक बसले विपरित दिशाबाट आउदै ना ११ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक लोप्चन गम्भिर घाईते भएका थिए । घाइते लोप्चनको उपचारको लागि वीरगंज नारायणी अस्पतालमा ल्याउदै गर्दा बीच बाटोमै मृत्यु भएको बारका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । ठक्कर दिने बस प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाको नियन्त्रणमा रहेपनि चालक फरार रहेका छन् ।