विकास खर्चमा हेटौंडा उपमहानगर कमजोर

हेटौंडा–आर्थिक वर्षको अन्त्यमा आएर हतारमा बजेट खर्च गर्ने प्रवृति हेटौंडामा यसवर्ष पनि दोहोरिने भएको छ । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा उपमहानगरको योजना कार्यान्वयनको अवस्था कमजोर देखिएको छ ।

उपमहानगरले कुल बजेटको करिब ४९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी हुँदा ५१ प्रतिशत बजेट खर्च हुन सकेको छैन । विकास खर्च भने उपमहानगरको झनै कमजोर रहेको छ । उपमहानगरपालिकाको हालसम्मको विकास खर्च करिब ३५ प्रतिशत मात्र भएको तथ्याङ्कले देखाएको छ ।

यसवर्ष एक अर्ब ८२ करोड ६२ लाखको बजेट ल्याएको उपमहानगरले वैशाख मसान्तसम्ममा ९० करोड २३ लाख ९० हजार चारसय ६२ रुपैया खर्च गरेको छ । वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार हेटौडा उपमहानगरपालिकाको दुईसय ११ वटा भौतिक पूर्वाधारको योजनाको काम सम्पन्न गर्न बाँकी नै छ । उपमहानगरले १० महिनामा तीन सय ४१ वटा भौतिक पूर्वाधारसम्बन्धी योजना सम्पन्न गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा पाँच सय ५२ वटा योजना छनौट गरिएकोमा तीनसय ४१ वटा योजना सम्पन्न गरेको र दुईसय ११ वटा योजनाहरु चालु हालतमा रहेको उपमहानगर–पालिकाका कम्प्युटर अपरेटर रामशरण आचार्यले जानकारी दिए ।

उपमहानगरले चालु आवको लागि ६६ करोड १८ लाख ६८ हजार रुपैयाँ भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको थियो । जसमा २३ करोड ६७ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ भने ४२ करोड ५१ लाख दश हजार रुपैयाँ खर्च हुन बाँकी नै रहेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न १४ वटा शीर्षकमा भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाहरु बनाएको थियो ।

आचार्यका अनुसार पर्यटन, संस्कृति प्रवद्र्वन, ग्राबेल, उर्जा, भवन तथा सहरी विकास, सिँचाई , खानेपानी पुर्वाधार, सडक झोलुंगे पुल जस्ता शीर्षकहरुमा योजनाहरु निर्माण भएका थिए । त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन, मर्मत सुधार, आकस्मिक भइपरी, वडागत बजेट, गतवर्षको योजना सारिएको र विविध जस्ता शीर्षकहरुमा भौतिक पूर्वाधार निर्माणका योजनाहरु बनेका थिए ।

जसमा सडक तथा झोलुंगेपुल शीर्षकमा एकसय ८५ वटा योजना बनाएकोमा एकसय ३३ वटा योजना निर्माण सम्पन्न भइसकेका छन् भने ५२ वटा योजनाहरु चालु रहेका छन् । त्यस्तै मर्मत सुधारतर्फ ६५ वटा योजना बनेकोमा ४१ वटा योजनाहरु निर्माण भइसकेका छन् भने २४ वटा योजनाहरु निर्माण हुने चरणमा रहेका छन् । त्यस्तै आकस्मिक भइपरी शीर्षकमा ४२ वटा योजना बनेकोमा १७ वटा योजना निर्माण सम्पन्न भएकोमा २५ वटा योजनाहरु निर्माण हुने चरणमा नै रहेका छन् ।

त्यस्तै भवन तथा सहरी विकास शिर्षकमा ३६ वटा योजना बनेकोमा १८ वटा योजना सम्पन्न भइसकेको र १८ वटा योजनाहरु सञ्चालनमा नै रहेका छन् । विविध शीर्षकमा पनि उपमहानगरले ८२ वटा योजनाहरु निर्माण गरेको थियो । जसमा ४० वटा योजनाहरु सम्पन्न भइसक्दा ४२ वटा योजनाहरु भने सञ्चालनमा नै रहेका छन् ।

यस्तै उपमहानगरपालिकाले गर्त आर्थिक वर्ष ०७४/०७५ मा सम्पन्न नगरेको ४९ वटा योजनाहरु यस आर्थिक वर्षको लागि सारेकोमा ४४ वटा योजनाहरु सम्पन्न भएका छन् भने अझै ५ वटा योजनाहरु सम्पन्न हुन बाँकी नै छन् । उपमहानगरले बनाएको भौतिक पूर्वाधार निर्माण योजनाअन्तर्गत सडक निर्माण, झोलुंगे पुल तथा खानेपानी निर्माण जस्ता पूर्वाधारहरु रहेको जनाइएको छ । आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।