नाकको हड्डी भाँच्न एक करोड !

मोरङ — सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको छु भन्नुभएछ नि ?’

जबाफमा चौधरीले भने, ‘एक करोड हैन, दस करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने ।’
यो त कानुनलाई हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’अन्तर्वार्तामा उनले आफू नेकपा कार्यकर्ता भएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपाको कार्यकर्ता हो, द्वारिक चौधरी । प्रदेश नं १ को सदस्य । मेरो नेतालाई सुनाइदिनु होला तपाईँको कार्यकर्ता त जब्बर रहेछ ।

केपी ओलीलाई सुनाइदिनुस् । माधव नेपाललाई सुनाइदिनुस् । प्रचण्डसँग त अस्ति आइरहेछु हात मिलाएर ।’ आमसञ्चार माध्यमबाट कुनै व्यक्तिविशेषलाई तोकेरै सिध्याइदिने खुला धम्की दिइरहेका मेयर चौधरीप्रति पार्टी र राज्य संयन्त्रका तर्फबाट बुधबार बेलुकीसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको जानकारी छैन । पत्रकार महासंघ सुनसरीको बुधबार बसेको बैठकले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारलाई पूर्ण रूपमा सुरक्षा अनुभूति नभएसम्म इटहरी उपमहानगरका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

शाखा अध्यक्ष अमर खड्काले सुनसरीका पत्रकार असुरक्षित भएको ठहर गर्दै जिल्ला प्रहरी र प्रशासनमा ज्ञापनपत्रमार्फत सुरक्षा मागिएको बताए । ‘इटहरी उपमहानगर प्रमुख नेकपाका प्रदेश कमिटी सदस्यसमेत भएकाले नेकपालाई प्रेस जगत्प्रतिको दृष्टिकोण सार्वजनिक गर्न माग गरेका छौं,’ उनले भने ।

पत्रकार महासंघ प्रदेश समितिले विज्ञप्ति जारी गर्दै चौधरीले दिएको धम्की र गालीगलौजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको बताएको छ । प्रमुख चौधरीलाई कारबाहीका साथै प्रेस स्वतन्त्रताको सम्मान एवं पत्रकारलाई निर्बाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन तीनै तहका सरकारसँग माग गरिएको छ ।

उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले चौधरीले पत्रकारप्रति गरेको व्यवहार उचित नभएको बताइन् । विगतमा लेखेका समाचारहरूका कारण चौधरी पीडित हुनुपरेकाले आक्रोश जन्मिएको उनको भनाइ छ । इटहरी उपमहानगर अध्यक्ष रेवती घिमिरेले सार्वजनिक ओहदामा पुगेपछि त्यसको मर्यादा राख्नु जोसुकैको पदीय दायित्व हुने भन्दै चौधरीले यसमा ध्यान दिनुपर्ने बताए ।

‘उपमहानगरजस्तो संस्थाको प्रमुख पदमा निर्वाचित भएर गएको व्यक्तिले कानुनले बन्देज गरेको कार्य गर्नु सर्बथा अनुचित हो,’ उनले भने, ‘उहाँले चलाएको भ्रष्टाचारविरुद्ध, सार्वजनिक सम्पत्तिको संरक्षणलगायतको अभियानको पक्षमा छु । तर त्यो विधि र प्रक्रियाअनुसार चल्नुपर्छ ।’
नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले उपमहानगरको प्रमुख पदमा बसेर चौधरीले पत्रकारविरुद्ध गरेको कार्य शोभनीय नभएको बताए । ‘समस्या समाधानको बाटोमा हिँड्नुपर्ने हो,’ उनले भने, ‘समस्या झन् बल्झाएर कसैलाई फाइदा नहुने सबैले बुझ्नु आवश्यक छ ।’
सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पत्रकार महासंघले ज्ञापनपत्र बुझाए पनि कसैले उजुरी दर्ता नगरेको उल्लेख गर्दै यसबारे अनुसन्धान भइरहेको उनले जनाए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा देवनारायण साहले लेखेका छन् ।