बमकाण्डका जाहेरीकर्ता, प्रत्यक्षदर्शी, साक्षीपीडितका प्रहरीले सुरक्षा दिने

आर्दशवाणी संवादादाता । रौतहट, ६ मंसिर । रौतहटको राजपुर फरदहवा बमकाण्डका जाहेरीकर्ता, प्रत्यक्षदर्शी, साक्षी र पीडितका लागि रौतहट प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ । जिल्ला अदालतले साक्षीको सुरक्षामा ध्यान दिन आदेश दिएपछि प्रहरीले सतर्कता अपनाएको हो । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११४ (२) र मुलुकी फौजदारी कार्यविधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरीकर्ता, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाबारे अदालतमा थुनछेक बहस चलिरहेका बेला विस्फोटका घाइते भारतीय नागरिक गौरीशंकर रामलाई अपहरण गरेर बयान फेर्न लगाइएको घटना बाहिर आएको थियो । यस्तै मृतक ओसी अख्तरकी श्रीमतीलाई आर्थिक प्रलोभन तथा मानसिक तनाव दिई श्रीमान् जिउँदै छ भनेर अदालतमा जाहेरी दिन लगाइएको थियो । घटनाका घाइते रामको सुरक्षा व्यवस्थाका लागि प्रहरी प्रधान कार्यालयले भारतीय सुरक्षा अधिकारीलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक भूपेन्द्र खत्रीले राजपुर घटनाका सरोकारवाला अधिकांशको सुरक्षा व्यवस्था गरिएको बताउनु भयो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटमा छोरा गुमाएका सरुअठाका श्रीनारायण सिंहलाई सबैभन्दा बढी सुरक्षा चुनौती रहेको प्रहरीको आकलन छ । उनको सुरक्षाका लागि हतियारसहित प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनाका साक्षीहरू बसेको स्थानमा सुरक्षाकर्मी परिचालन गरी निगरानी गरिरहेका छन् ।