सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन हस्ताक्षर अभियान

आर्दशवाणी संवादादाता । पर्सा, ६ मंसिर । पर्साको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन वीरगंजमा हस्ताक्षर अभियान शुक्रवारदेखि शुरु भएको छ । स्वच्छ नदी पवित्र जल, स्वास्थ जीवन समृद्ध वीरगन्ज भन्ने मुल नाराका साथ पर्साको श्रीसिया नदी प्रदुषण मुक्त अभियानले वीरगन्जको घण्टाघर चौकमा हस्ताक्षर अभियान शुरु गरेको छ । दुई दिने हस्ताक्षर अभियान बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म हुने अभियानका संयोजक एवं अधिवक्ता सुरेन्द्र कुर्मी बताउनु भयो । स्वच्छ वातावरण नभएसम्म स्वच्छता कर नदिन स्थानियलाई आग्रह गर्दै संयोजक कुर्मीले नेपालको संविधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक अधिकार सुनिश्चिता गरेको बताउनु भयो । विषादीयुक्त पानीले गर्दा आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढ्दै गएको बताउँदै उहाँले ‘मुख्यमन्त्रीले स्वच्छता कर लिए पनि स्वच्छ वातावरणतर्फ कुनै कदम नचालेको र स्वच्छता करको पैसा अनावश्यक खर्च भइरहेको भन्नुभयो । वीरगन्ज पथलैया कोरिडोर तथा सिर्सिया नदी भेगमा सञ्चालित छाला, सिमेन्ट, सावुन लगायतका उद्योगहरुले छाई, जिवका अवशेष, रौ तथा केमिकलयुक्त विषादी फोहर पानी सिँधै नदीमा मिसाउँदा आसपासका स्थानियलाई समस्या हुने गरेको उहाँले बताउनु भयो । संयोजक कुर्मीले वीरगन्जलाई प्रदुषण मुक्त बनाउन सञ्चालन गरिएको हस्ताक्षर अभियानमा सहभागी हुन स्थानियलाई आग्रह समेत गर्नुभयो । राजपाका जिल्ला अध्यक्ष राजेशमान सिंहले सिर्सिया नदी प्रदुषण मुक्त बनाउन संघर्ष समितिको अभियानमा आफ्नो पूर्ण समर्थ रहेको र यसको लागि आवश्यक कदम चाल्नु परे पनि पछि नट्ने प्रतिबद्धता जनाउनु भयो । दुई दिनेसम्म चल्ने हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र त्यसपछि थप संर्घषका कार्यक्रम सार्वजनिक गरिने अभियानका सदस्य ओमप्रकाश सर्राफले जानकारी दिनु भयो ।