मेडिकल कलेजले रकम फिर्ता नगरे कारवाही

काठमाडौँ, ९ मंसिर । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलवार ९ गते सम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा सोमवार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थितको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो । यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सकिने निर्णय गरेको थियो । यसैगरीपर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी समक्ष कलेजमा शान्ति सुरक्षा कायम गर्न, गैर कानुनी किसिमले असुलिएको शुल्क फिर्ता गराउन र स्वच्छ वातावरणमा पढन पाठन गराउन लिखित रुपमा सहमति गराउदै निर्देशन दिनु भएको छ । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले गरि रहेको आन्दोलन र सो सम्बन्धमा नेशनल मेडिकल कलेज व्यवस्थापन पक्षको धारणालाई लिएर स्थानिय प्रशासनले पहलकदमी शुरु गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको सक्रियतामा पर्साका सुरक्षा निकाय, मेडिकल कलेज व्यवस्थापन पक्ष, आन्दोलनरत विद्यार्थीहरुसँग छुटाछुटै छलफल गरी समस्या समाधानको लागि पहल भएको हो । स्थानिय प्रशासनले शुल्क फिर्ता गराउने सम्बन्धमा गृह मन्त्रालयले निर्देशन सहितको पत्रचार गरि सकेको र हाल सम्म कुनै पनि विद्यार्थी र अभिभावकले स्थनिय प्रशासनका निवेदन नदिएकोले त्यस्ता पिडित र अभिभावकले स्थानिय प्रशासनमा उजुरी गर्न आग्रह गरेको छ । व्यवस्थाप र विद्यार्थीहरु सँग भएको छुटाछुटै सफलमा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर, राष्ट्रिय अनुसन्धानका एसपी कुमार खड्का, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।