मूल्य बढाउन पाउनुपर्ने माग राख्दै हेटौंडाका मासु पसल ठप्प

हेटौडा–खसीको मासुको मूल्य बृद्धि गर्न पाउनुपर्ने माग गर्दै हेटौंडाका माछामासु व्यवसायीले आजबाट सेवा ठप्प पारेका छन् । अन्य जिल्लाको तुलना गर्दै व्यवसायीले हेटौंडामा खसीको मासुको मूल्य वृद्धि गरेका थिए । आठ सय रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको खसीको मासुको मूल्य प्रतिकिलो नौ सय रुपैयाँ पर्र्याइएको थियो ।

उक्त बढाइएको मूल्य अस्वभाविक भएको भन्दै स्थानीय प्रशासनले मूल्य वृद्धि गर्न रोक लगाएपछि व्यवसायीहरु आन्दोलत बनेका हुन् । आईतवार हेटौँडामा मकवानपुर माछामासु ब्यवसायी संघ तथा हेटौँडा मासु ब्यवसायी संघले संयुक्त पत्रकार सम्मेलन गरी आजबाट मासु ब्यवसाय बन्द गर्ने घोषणा गरेका थिए ।

मासु व्यवसायीले खसीको मासुमा प्रतिकिलो एकसय रुपैयाँ बृद्धि गर्दा प्रशासनले उक्त विषयलाई बाधा अड्चन गरेको भन्दै आन्दोलन गर्नु परेको हेटौँडा मासु ब्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले बताए । आफूहरुले घाटा खाएर मासु ब्यवसाय गर्न नसक्ने भन्दै उनले ब्यवसाय छोडेर आन्दोलन गर्नु परेको बताएका छन् । मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकी खड्गीले आफूहरुलाई समस्या परेको कारण आन्दोलन गर्नुपरेको बताए ।

यस्तैै मकवानपुर कुखुरा ब्यवसायी संघका अध्यक्ष राजु अधिकारीले अन्य छिमेकी जिल्लाको तुलनामा मकवानपुरमा मासुको मूल्य सस्तो हुदा मासुको गुणस्तरमा प्रश्न उठेको बताए । चितवनमा खसीको मासु १ हजार रुपैयाँ किलो, काठमाडौँमा एक हजार २ सय रुपैँया पुगिसकेको बताउँदै मकवानपुरमा एकसय बढाउँदा कालोबजारी गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।