प्रदेश २ सरकार आफै गरेको निर्णयबाट पछाडि हटेको छ । भव्यताका साथ संविधान दिवस मनाउने भनेर संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश २ सरकार आफै पछि हटेको हो ।
असोज ३ गते शुक्रबार परेको संविधान दिवस भव्यताका साथ तीनदिनसम्म मनाउने भनि भदौ १७ गते मुख्यमन्त्री लालबाबु राउतकै अध्यक्षतामा प्रदेश स्तरीय संविधान दिवस मूल समारोह समिति गठन गर्यो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं। २ ले भदौ २७ गते एक सूचना जारी गर्दै तीन दिवसीय रुपमा संविधान दिवस मनाउन आह्वान गर्यो ।
जस अनुसार असोज २ गते बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम, असोज ३ गते संविधान दिवसको अवसरमा जानकी मन्दिरको प्रांगनबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी र अन्तिम दिन असोज ४ गते शनिवार मधेस भवन परिसरमा सरसफाई तथा बृक्षारोपन र मधेस भवन परिसरबाटै जानकी मन्दिरसम्म लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना मूलक र्याली गर्ने ।
सरकारको उक्त निर्णय नमान्ने, कार्यक्रममा नजाने र संविधाद दिवसको दिन कालोदिवस नै मनाउने प्रदेश २ सरकारको सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरुले आफ्ना अभिव्यक्ति समाजिक संजाल लागतय संचार माध्यमहरुमा दिँदै आएका छन् । जसको कारण प्रदेश सरकारका सत्तारुढ समाजवादी पार्टीबाट मुख्यमन्त्रीदेखि मन्त्रीहरु र सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरु बिच संविधान दिवस मनाउने र नमनाउने जुहारी चल्दै आएको थियो ।
तर संविधान दिवसको मुखमा आएर समाजवादी पार्टीले संविधान दिवसको दिन कालो दिवस र दीपावली केहि नगर्ने एवं तटस्थ बस्ने निर्णय गरेपछि प्रदेश २ सरकार एकाएक आफ्नै निर्णयबाट व्याक भएको छ ।
तीन दिवसीय रुपमा प्रदेश २ सरकारले गरेको निर्णय यथावत राख्दै त्यस्तो कार्यक्रमहरुमा मुख्यमन्त्रीदेखि मन्त्री कोहि पनि सहभागि नहुने अर्थात तटस्थ बस्ने निर्णयमा सत्तारुढ समाजवादीका मुख्यमन्त्रीदेखि मन्त्रीहरु छन् ।
सरकारकै निर्णय र पूर्व सूचना अनुसार पहिलो दिन असोज २ गते बिहीबार नकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको नेतृत्वमा भएको कार्यक्रममा मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको हसभागिता थियो । तर पदेश २ सरकारका मुख्यमन्त्री लगायत कुनै पनि मन्त्री सहभागि भएनन् ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले संविधान दिवसमा तटस्थ बस्ने प्रतिक्रिया दिनुभयो । संविधानमा धेरै उपलब्धी रहेकाले संविधानको विरोध पनि नगर्ने र संविधान संशोधन नभएसम्म उक्त दिवस पनि नमाउने मन्त्री यादवको भनाई छ ।
यता राजपा नेपालका मन्त्रीहरु भने संविधान दिवसमा कालो दिवस मनाउने बताएको छ । संविधान संशोधन नभएसम्म यस दिनलाई कालो दिवसको रुपमा मनाइरहने राजपा नेपालबाट मन्त्री राज्यमन्त्री बन्नुएका प्रदेश २ का उद्योग,पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारका राजपाका सबै मन्त्री र राज्यमन्त्री कालोदिवस मनाउने कार्यक्रममा सहभागि हुने छन् ।