मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० बाट राससका अध्यक्ष धमेन्द्र झालाई प्रदान गरिने

रौतहट, ३० बैशाख ।
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० बाट राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई प्रदान गरिने छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको बैशाख २९ गते बसेको कार्य समितिको बैठकले २०८० को मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष झालाई सम्मानित गरिने निर्णय गरेको हो । पुरस्कारको राशि भने, २५ हजार रहेको छ । उहाँलाई जेठ २० गते महासंघमा सो पुरस्कारबाट सम्मानित गरिने महासंघका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिनुभयो ।
गतवर्ष २०७९ को प्रथम पुरस्कारबाट गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक एवम् नेपाल पत्रकार महासंघ रौतहट शाखाका प्रथम (पूर्व) अध्यक्ष कुमार विवेकानन्द मिश्रालाई प्रदान गरिएको थियो ।
रौतहटबाट प्रशारण हुने रेडियो मधेश मसलाका स्टेशन मैनेजर एवम् जनकपुर टुडेका रौतहट समाचारदाताको रुपमा काम गर्दै आएका पत्रकार मनोज चौधरीको ०७८ बैशाख २९ गते ४१ वर्षको उमेरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएको थियो, महासंघ सचिव मदन ठाकुरले बताउनुभयो ।
गरुडा नगरपालिका ४ बस्ने चौधरीको एक छोरा र एक छोरी रहेको छ, भने उहाँकी श्रीमति पुनम कुमारी चौधरी सोही पालिकामा उप–मेयर पदमा निर्वाचित रहेकी छिन् ।