सीमावर्ती क्षेत्रमा डिएसपि आएपनि रोकिएन तस्करी

रौतहट, २३ बैशाख । नेपाल भारत सीमा क्षेत्रमा तस्करी रोक्न सशस्त्र प्रहरी नायब उपरीक्षक (डि.एस.पि.)लाई पोष्ट बहाली गरेपनि सो क्षेत्रको तस्करी रोकिएको छैन् । दस गाजा नजिकै रहेका बिओपि पोष्ट तथा सशस्त्र प्रहरीको चेक पवाईन्टमा दिउँसो चेकजाँच कडा भएपनि उनीहरुकै मिलोमतोमा रातीराती व्यापक तस्करी हुने गरेको छ । सर्वसधारणहरुले दैनिक उपभोग्य बस्तु भारतबाट खरिदगरी नेपाल ल्याउदा उनीहरुलाई सुरक्षामा खटेका प्रहरीले अनाहकमा दुःख दिने गरेको तर, तस्करहरुलाई रातीराती प्रहरीले नै लाईन दिएर तस्करी गराउने गरेको सीमावर्ती क्षेत्रका स्थानीयहरुले बताएका छन् ।तस्करी रोक्न सरकारले सीमा क्षेत्रमा रहेका प्रायःसबै बिओपिमा सशस्त्र प्रहरी नायब उपरीक्षको दरबन्दी कायमगरी चेकजाँच कडा भएपछि राजश्वमा बृद्धि गर्नका लागि योजना ल्याएका छन् । तर, सो क्षेत्रमा तस्करी रोक्नुको साट्टो झन बढ्दै गएको गौंर भंसार कार्यालयका प्रमुख बासुदेव नेपालले बताए । चालुआर्थिक वर्षको १० महिनामा करिब १८ करोड् राजश्व उठेको उनले भने । यसवर्ष भने, गौंर भंसारले तोकेको लक्ष्य भन्दा पनि ५० प्रतिशत कम राजश्व आएकाले हाँसोको बिषय बनेको उनले बताए । गतवर्ष भने, लक्ष्यको ७८ प्रतिशत राजश्व उठेको थियो, यसरी राजश्वको कुरा गर्दा, खुल्ला सीमा भएको कारण तथा सीमाक्षेत्रमा खटेका प्रहरी यूनिटको कमी कमजोरी वा उनीहरुको कारण राजश्वमा चुहावट भई रहेको भंसार तथ्याँङ्कले प्रमाणित गरेको भंसार प्रमुख नेपालले जानकारी दिए । सेवाग्रही तथा व्यापारीहरुको सुविधाको लागि रौतहटको मुल भंसार गौंर बाहेक केही वर्षदेखि बन्द रहेका छोट्टी भंसार बंकुल कार्यालय खुल्ला भएपनि असुरक्षाको कारण देखाउँदै त्यहाँ कुनै कर्मचारी बस्न नमान्दा सो भंसार कार्यालय बन्द सरह नै रहेको उनले बताए । सीमा क्षेत्रमा रहेका प्रहरी प्रशासनको तस्करहरु सँग साँठगाँठ रहेका कारण भंसारको कर्मचारीलाई असुरक्षा भएको पनि यसले प्रमाणित गर्दछ, प्रमुख नेपालले बताए । जिल्लाको बेलबिछवा, महादेवपट्टी, बञ्जारहा, औरैइया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया, बंकुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, बेल्दारी, कवही, मटिअर्वा, छातवा र मुसहर्वालगायतको नाकाबाट प्रहरी सेटिङ्गमै तस्करी हुने गरेको भित्रि स्रोतले दावी गरेका छन् ।सीमादेखि माथिसम्म हाम्रो सेटिङ्ग भएपनि ठुला हाकिम र साना दर्जाको कर्मचारीसँग तालमेल नमिल्दा हाम्रो समान समातिने गर्दा, हामी दोहरो मार्कामा पर्ने गरेको पुरनहिया निवासी भारतीय तस्कर संदिप यादवले उनीहरुको रवैया प्रति गुनासो गरे ।