काठमाडौंमा चोरको बिगबिगी, यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं– राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।

प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।
परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए ।

‘एक महिने अवधिमा प्रहरीले ठूलो सफलता पाएको छ, यसबाट राजधानी थप सुरक्षित हुनेछ,’ उनले भने । पक्राउ परेकालाई परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अभियानका क्रममा सार्वजनिक यातायातमा २ देखि ६ जनासम्मको समूह बनाई बसमा छिर्ने र पैसा भएको व्यक्ति बनाई गोप्य भाषा (कोड भाषा) प्रयोग गरी घेराबन्दीमा पार्ने र त्यसपछि मोबाइल, नगद तथा सुनचाँदी पकेट मारेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । एकजना पाकेटमाराले त आफू प्रहरी हबल्दार भएको भन्दै प्रस्तुत गरेको समेत प्रहरीले जनाएको छ ।

पाकेटमाराका कोड भाषा
पैसा–द
मोबाइल–कान
पाकेटकारी पीडित– रामे
पाकेटकारी गर्ने (मास्टर)–काशी
पैसा धेरै छ–टानको द
पैसा थोरै छ–जुटको द
गाडी–काचा
केटा– छापा
केटी– भद्री
पुलिस आयो– ठूल्दाइ आयो
ड्राइभर–माम
खलासी– मले
गाडीबाट झरेर भाग–टप्की
गाडीभित्र अगााडि सर– अकल जा
गाडीभित्र पछाडि सर– चिछल जा

आजको राजधानी दैनिकमा समाचार छ ।