पैसाका लागि आफ्नै छोरा बन्धकी


सप्तरी – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ ।
आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए ।

इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।

प्रहरीद्वारा उद्धार
मोहिबुललाई इँटाभट्टाबाट निकालेर सुनसरीको इटहरीस्थित बाल हेल्पलाइनको संरक्षणमा पठाइएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले जानकारी दिए । ‘बालक समस्यामा परेको निकै समयपछि हामीले जानकारी पायौँ । तर, अभिभावक लिन नआउने र संरक्षण गर्ने निकायको पनि सहजता नभएकाले उद्धारमा समय लाग्यो,’ पौडेलले भने ‘बाल हेल्पलाइन भन्ने संस्था बालकको संरक्षण गर्न तयार भएपछि त्यहाँ पठाइएको हो ।’

यसअघि भारतीय दूतावास र प्रहरीमार्फत बालकलाई अभिभावकको जिम्मा लगाउने प्रयास सफल नभएको उनले जानकारी दिए । ‘आधिकारिक पत्र लिएर आए प्रहरीमार्फत पनि बालकलाई पठाउने कुरा ग¥यौँ,’ पौडेलले थपे, ‘तर, बालक जिम्मा लिन कोही नआएपछि अर्को विकल्प खोज्नुपरेको हो ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।