काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालैका दिनमा भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति नै जारी गरी प्रधानन्यायाधीश जवरा र प्रधानमन्त्री ओलीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचार सतप्रतिशत झुटो रहेको र त्यस्मा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएको हो ।
मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निकट मिडियाले प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जवराबीच भेटबार्ता भएको भन्दै समाचार प्रशारण गरेका थिए । सर्वाेच्च अदालतले सो बिषयमा मुख खोल्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए ।
सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ । यता उक्त समाचारहरू फेक न्युजको पराकाष्टा भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभएको छ । पत्रकार जगन्नाथ दुलालले प्रधानमन्त्रीको निमन्त्रणमा प्रधानमन्यायाधीश ओल्लो गेटबाट छिरिबक्स्यो भन्ने समाचारका सन्दर्भमा लेखेको टिप्पणीमा प्रतिक्रिया जनाउँदै पौडेलले फेक न्युजको पराकाष्ठा भन्दै प्रतिक्रिया दिनुभएको हो । उहाँले भन्नुभएको छ ‘फेक न्युजको पराकाष्टा । अब फेरि केही दिन यस्तै फेक न्यूजको भट्टी चल्छ भन्ने अनुमान छ । यसअघिको प्रतिनिधिसभाका बिषयमा पनि ५ जना न्यायाधीशका बिषयमा यसैगरी फेक न्यूज चलाईयो र अन्तमा माफी मागियो । हामी लिबरल भयौं ।’
साभार जनता टाइम्स