बाराको साना किसान कृषि सहकारी संस्थाले हर्जना नलिने निर्णय

आरएन पटेल

रौतहट । भदौ १३ गते
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाहा गरेको छ । संस्थाले सोही उपमहानगरपालिका वडा नम्बर १७ जीतपुरकी सदस्य सन्चमाया तामागनीको मृत्युपछि उनको नाममा रहेको ३ लाख ९९ हजार ८७० कर्जा मिनाहा गरेको हो । कर्जा मिनाहसँगै आश्रित परिवारमा ३५ हजार नगद राहत रकमसमेत प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाबाट गएको प्रतिनिधिहरुको टोलीले मृतक तामागनीको घरमा श्रद्धाञ्जलीे कार्यक्रम गरी उनका पति पसाङ्ग तामांगलाई कर्जा मिनाहको प्रमाणपत्रसहित राहत रकम प्रदान गरेको हो । मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तर्गत राहत प्रदान तथा कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत कर्जा मिनाहा गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्ना एक दर्जन मृतक सदस्यका आश्रित परिवारमा मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तरगत राहत प्रदान गरिसकेको छ भने कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत सुविधा पाउने तामागनीको परिवार पहिलो भएको उहाँले बताउनुभयो । पाठेघर क्यान्सरबाट तामागनीको गत असार २७ गते निधन भएको थियो । संस्थाले कोरोना महामारीको प्रभावमा परेका आफ्ना सदस्यहरुले लिएको कर्जाको ब्याज घटाउँदै हर्जाना नलिने घोषण समेत गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । नियमित कारोबारमा संलग्न सदस्यहरुलाई यस अवधिमा कर्जा भाखा नाघेको अवस्थामासमेत साधारण ब्याज लिने र कुनै किसिमको हर्जना नलिने निर्णय गरेको उहाले बताउनु भयो । सामान्य तथा ९ देखि ६ प्रतिशत साधारण ब्याजमा लगानी भएको कर्जाको ब्याज ९ देखि १४ प्रतिशतमा झारिएको खड्काले जानकारी दिनुभयो । संस्थाले कृषि कर्जा लगानी गर्नुका साथै मल, विउ, कृषि सामाग्री सहितको कृषि पसल संचालन गर्दै आएको छ । यस्तै कृषि प्राविधिक नियूक्त गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेतले जानकारी दिनुभयो । करिब ४० करोडको कारोबार गर्दै आएको संस्थामा ४८ जना पुरुष सहित २ हजार २६५ सदस्य आवद्ध रहेका छन् ।