प्रहरीले मरणासन्न कुटपिट गरेकाले मृत्यु भएमा ईप्रका गरूडा घेराउ

रौतहट । भदौ ११ गते
रौतहटमा प्रहरी हिरास्तमा रहेका ७ जना मध्ये एक युवकको मृत्यु भएको छ ।
जिल्लाको गरुडा नगरपालिका ८ बसबिटि जिंगडिायाका २० वर्षिय निरन्जन राम चमारको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका सात जनामध्ये एक युवकको मृत्युु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको बुधवार राति १ बजे मृत्यु भएको हो ।
सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधवार राति मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिनुभएको छ ।
हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको मृतक विजयरामका बुबा पनिलाल चमारले आरोप लगाउनुभएको छ ।
निर्दोष छोरालाई हत्यामा फसाउने नियतले प्रहरीले जबरजस्ती पक्राउ गरेको मृतक रामका बुबा चमारको दाबी छ । यता पक्राउ परेका मृतक विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभएको छ ।
उपचारका क्रममा पिसिआर टेष्टसहित दुुई दुुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महतोले जानकारी दिनुभयो ।
गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको अभियोगमा उनकै साथीहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँ नजिकै फालेका थिए ।यसरी आफ्नै साथीबाट हत्या गरिएको अनुसन्धानमा खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित ७ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
आजादकै परिवारका एक महिलासँग अनैतिक सम्बन्ध राखेका कारण उनको योजनानुसार साथी मिलेर निरञ्जनको हत्या गरिएको प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।
पक्राउ परेका सातै जनामाथि ज्यान मुद्दाअन्तर्गत जिल्ला अदालत रौतहट गौरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया शुरु गरिएको रौतहट प्रहरीले जनाएको छ ।
त्यस्तै घटनाको छानबिन गरी दोषीलाई कार्यवाही र क्षतिपूर्तिको माग सहित मृतक बिजयका आफन्त र दलित समुदायले बिहीबार ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।
हिरास्तमा प्रहरीको निर्घात कुटपिटबाट विजय रामको मृत्यु भएको भन्दै उनका आफन्तहरुले गरुडामा विहिवार कडा प्रदर्शन गरेका छन ।
प्रहरीले कुटपिट गरी विजयको ज्यान लिएको भन्दै हजारौ हजारको संख्यामा आएका उनका आफन्त तथा गाउँवासीहरुहरुले विहिवार इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरी प्रदर्शन गरेका छन ।  प्रहरी प्रशासन मुर्दावाद, कुटपिट गरी ज्यान लिने प्रहरीलाई निलम्वन गर जस्ता नारा लगाउँदै उनिहरु प्रदर्शन गरेको थियो ।