कोरोना संक्रमणबाट बचाउन रौतहटमा शनिबारदेखि निषेधाज्ञा जारी हुने

रौतहट, २२ साउन । सर्व सधारणदेखि समुदायमा कोरोना सङ्क्रमण देखापर्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गते अर्थात शनिबारदेखि ३२ गते सम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा देखापर्न थालेको तथा बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा सङ्क्रमण रोकथामका लागि रौतहट जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ । अतिआवश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिष्कन पूर्ण रुपले प्रतिबन्ध, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, व्यवस्थापन, ग्याँस ढुवानी, औषधी, दुधजन्य पदार्थ खाद्यान्न सामग्री लगायत आपुर्तिबाहेक अन्य सेवाहरु निषेध गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ । समुदायमा कोभिड १९ को सङ्क्रमण देखा परेपछि सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।