सुमोमा घर्रा बनाएर लागूऔषध कारोबार

हेटौंडा– मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा बरामदमा सक्रियता देखाइरहेको छ । दिनहुँ जसो मकवानपुर भएर विभिन्न माध्यमबाट लागूऔषध ओसारपसार भइरहेको छ ।

यसै क्रममा लागु औषध ओसार प्रसार तथा निर्यात हुने नयाँ तरिका पत्ता लागेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा घर्रा बनाएर गाँजा ओसारपसारमा संलग्न एक भारतीयलाई सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुसवाहा नेतृत्वको गएको प्रहरीले हेटौंडा भएर बिरगंज तर्फ जादै गरेको बी.आर–२९७५६५ नम्बर को भारती सुमोमा पछाडिपट्टीको नम्बरको भित्रपट्टी दराजको घर्रा जस्तो ठाउँ बनाई लुकाइछिपाई ३१ किलो गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा हेटौंडा–१५, रातोमाटेबाट सुमोसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक बिहार मजफ्फरपुर दसातपुर ८ बस्ने २६ बर्षीय राजकुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । उनी माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।