पर्साका तत्कालिन सहायक सिडिओ सहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

आर्दशवाणी संवाददाता । पर्सा, १० मंसिर । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई बंशजको आधारमा नेपाली नागरिकता दिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वीरगञ्ज महानगरपालिका–२ बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा पौडेलसहित वीरगञ्ज महानगरपालिका–२ का वडाध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुब्बा चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्ण विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । झुट्टा विवरणको आधारमा नागरिकता लिने वीरगञ्ज महानगरपालिका–२ बस्ने आरिफ हुसेन र सवरुन खातुनविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ । बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका–२ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी अख्तियारले वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष र पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल सहित ४ जनाविरुद्ध बिशेष अदालत काठमडौंमा मुद्दा दायर गरेको छ । दुई फरक मुद्दामा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् । झुट्टा विवरणको आधारमा ममताकुमारी गुप्तालाई नागरिकता प्रमाणपत्र दिएको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र नासु ठाकुर विरुद्ध अख्तियारले मुद्दा दायर गराएको छ । झुट्टा विवरण पेश गरी नागरिकता लिने ममता कुमारी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ । उनीहरुले स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा सँलगन रहेको आरोपमा मुदा दायर गराइएको प्रवक्ता कोईरालाले जानकारी दिनुभयो ।