प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

काठमाण्डौं, १० मंसिर । एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ । पेट दुखेपछि बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई क्याबिनमा सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेकाले अझै तीन–चार दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने डाक्टर अरुण सायमिले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि मात्रै डिस्चार्ज गरिने छ ।