जनप्रतिनिधिहरु नै विकासका ठेक्का लिदै

बारा, १० पुस । जनप्रतिनिधिहरुले नै स्थानिय तहमा हुने विकास निर्माणको ठेक्का आफैले लिने भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा सोही प्रवृत्ति दोहोरिएको छ । विगतमा ठेक्कापट्टाको काम गर्दै आएका ठेकेदार नै नगरप्रमुख भएपनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यसलाई निरन्तरता दिदै आएको आरोप नगरवासीले लगाएका छन् । नगरप्रमुखले नातागोता र आफन्तमार्फत् विकासका काममा एकाधिकार जमाएको भन्दै बाराको कोहल्वी नगरपालिकामा विरोध सुरु भएको छ । अधिकारको दुरुपयोग तथा कर्मचारीहरुलाई समेत भाडने काम गरेपछि नगरप्रमुख भरत भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् । बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिँड्ने, कामको उचित मूल्यांकन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा मेयर संलग्न भएको स्थानीयको आरोप छ । नगरप्रमुख भण्डारीले आफ्नै भाई भतिजा लगायतका व्यक्तिमार्फत् गत साउनमा निर्माण गरेको सडकको कालोपत्रे काम पूरा नहुँदै बिग्रिएको स्थानीय पे्रमा अधिकारीले गुनासो गर्नु भयो । नगरपालिकाभित्रका काममा मात्र होइन प्रदेश सरकारअन्तर्गतका काममा समेत नगरप्रमुखको अनुचित संलग्नता देखिएको स्थानीयको आरोप छ । नगरप्रमुखले कमाउने धन्दा गर्नुभन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीको भनाइ छ । उपभोक्ता समितिमा आफन्त र आफूअनुकूलका व्यक्तिलाई राखिएको र सोही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले बताउँदै आएका छन् । यता नगरप्रमुख भरत भण्डारी भने वडाहरुले विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न लैजाने गरे पनि आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नु भयो ।