सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडौं, कात्तिक १८

प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । ‘संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राति १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दुस्ख लागेको छ’, सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।’

केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिनुभयो । तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाउनुभएको थियो ।

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बन्नुभएको थियो । केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान छ । सभार जनता टाइम्स