समन्वय र सहकार्य गर्न सभामुखलाई संसदीय पत्रकारको आग्रह

हेटौंडा–संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई भेटी पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गरेको छ । सोमबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य सुदीप शिवाकोटी लगायतको टोलीले सभामुख श्रेष्ठलाई प्रदेशसभामा मिडियाको पहुँच सहज बनाउन माग गरेका हुन् ।

जनताले चुनेर पठाएका जनप्रतिनिधिले गरेका गतिविधि जनतासमक्ष पु¥याउनको लागि पत्रकारले महत्वपपूर्ण भूमिका खेलेको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, विधेयक छलफल, अन्तरक्रिया, अन्तरप्रदेश अनुभव आदानप्रदानलगायतका कार्यक्रम समेटेर आवश्यक बजेट बिनियोजन गर्नसमेत संसदीय पत्रकार मञ्चले माग गरेको छ ।

पत्रकारलाई संसदमा सहज पहुँच उपलब्ध गराउँदा लोकतन्त्र बलियो र जनउत्तरदायी हुने मञ्चका अध्यक्ष दाहालले सभामुख श्रेष्ठलाई स्मरण गराए । पत्रकारको आग्रहपत्र बुझेपछि सभामुख श्रेष्ठले आफूले प्रदेशसभामा मिडिया सेन्टरको स्थापनाको तयारी गरेको सुनाए । पत्रकारको क्षमता वृद्धिको लागि केही समयमा नै तालिम सञ्चालन गरिने पनि उनले प्रतिवद्धता व्यक्त गरे । अनुरोधपत्र बुझाउने कार्यक्रममा पत्रकार सुवास बिडारी, प्रिया पौडेललगायतको उपस्थिति रहेको थियो ।

संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको गत जेठ ६ गतेदेखि ८ गतेसम्म लुम्बिनीमा भएको भेलाबाट जारी घोषणापत्र पनि सभामुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । संसदीय मामिला पत्रकारहरुको उक्त सम्मेलनले संसदको मर्यादामा रहेर संसदीय विषयका समाचारको रिर्पोटिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनीयता कायम गर्न अरु बढी संवेदनशील बन्नेलगायतका ६ बुँदे घोषणापत्र जारी गरेको थियो ।

त्यस्तै संसदीय पत्रकार अन्तर– प्रदेशको लुम्बिनी सम्मेलनले संसदीय क्षेत्रमा पत्रकारितालाई अन्तर प्रदेश समन्वय र सहकार्यलाई अझै प्रगाढ बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै सम्मेलनले सञ्चारसम्बन्धी सम्पूर्ण ऐन, कानुन निर्माण तथा संशोधन एवम् कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छलफल र सुझाव सहित सञ्चारमैत्री बनाउन जोडदार माग गरेको छ ।

राज्यको पूनःसंरचनापछि संघीय पद्दतिअन्तर्गत प्रदेश सभाको व्यवस्था नौलो र प्रदेशस्तरमा संसदीय क्षेत्रमा कलम चलाउने विषय पत्रकारहरुको लागि पनि नितान्त नौलो रहेकोले पत्रकारहरुको क्षमता अभिवृद्धिको व्यवस्था गर्न सातवटै प्रदेशका प्रदेश सभा र प्रदेश सरकारसँग माग पनि गरेको छ ।

प्रदेश सभामा रिर्पोटिङ गर्नका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन, मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरुबाट ज्ञान एवम् अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागि प्रदेश सभाहरुसँग माग गर्ने निर्णय पनि भएको थियो । सातै प्रदेशका संसदीय पत्रकारको उपस्थितिमा भेला भएको थियो ।