हेटौंडा अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोर्ने दुई पक्राउ

हेटौंडा–हेटौंडा अस्पतालमा गत वैशाख ५ गते रातीको समयमा बिरामी कुरुवाको मोबाइल चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिनापछि दुई युवकलाई पक्राउ गरेको छ ।

अस्पतालबाट चोरी भएको मोबाइलको साथमा हेटौंडा–९ बस्ने १८ वर्षीये दिप सागर मिजार र हेटौंडा ४ बस्ने २१ वर्षीय सन्देश दुलाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५ थान मोबाइल बरामद गरेको छ ।

उनीहरुलाई चोरी सम्बन्धी कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको छ । सो कसुरमा ३ बर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । वैशाख ५ गते राती हेटौडा अस्पतालमा बेड भर्ना भएका बिरामीहरु तथा कुरुवाहरुको मोवाईलहरु चोरी भएको भनी परेको निवेदनको आधारमा मोबाइल चोर्नेको खोजी सुरु भएको थियो ।

अनुसन्धानको क्रमममा प्रहरीले सागर मिजारको साथबाट कलर्स कम्पनीको मोवाईल १ थान,, सामसुङ कम्पनीको मोबाइल एउटा, एमआई कम्पनीको मोवाईल एउटा र ओपी कम्पनीको एकथान मोबाइल गरी चार थान मोबाइल बरामद गरेको थियो । त्यसतै दुलालको साथबाट एमआई कम्पनीको एकथान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।