सडक सञ्जाललाई जोड दिँदै स्थानीय सरकार

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले दुई वर्षको अवधिमा सडक सञ्जाललाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ । उपमहानगरका वडाहरुमध्ये धेरै विकट भूभाग रहेको यस वडाले चालु आर्थिक वर्षमा सडकको विस्तार, स्तरोन्नति र स्ल्याब ढलानलाई बढी प्राथमिकता दिएको वडा अध्यक्ष नरनाथ सुवेदी (नवराज) ले जानकारी दिए ।

चालु आर्थिक वर्षमा करिब दुई करोड १४ लाख रुपियाँ बराबरको पुँजीगत खर्च वडामा हुने उनले जानकारी दिए । जसमध्ये करिब आधा बजेट सडकको ट्र्याक खोल्ने, फराकिलो बनाउने, सडकको स्तरोन्नति गर्ने र स्ल्याब ढलानमा खर्च भएको देखिन्छ । चालु आर्थिक वर्षमा वडा कार्यालय बस्तीपुर बजारबाट–कुवापानी–ज्यामिरे सडक खण्डको करिब २० किलोमिटर सडकको स्तरोन्नति तथा केही भागमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । यसैगरी, आगामी आर्थिक वर्षमा ज्यामिरे–शेरशेर हुँदै कैशला गाउँपालिका–९ र १० नम्बर वडा जोड्ने सडकको ट्र्याक खोल्ने योजना रहेको वडा अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘हामीलाई उपमहानगरबाट प्राप्त हुने बजेटबाट नयाँ ट्र्याक खोल्ने मुस्किल पर्छ । यसका लागि प्रदेश सरकार र संघीय सरकारको बजेट आवश्यक पर्दछ । हामीलाई आवश्यक सहयोग प्रदेश सरकार संघीय सरकारबाट भएको छैन । बस्तीपुरबाट कैलाश गाउँपालिकासम्मको सडकको अवस्था राम्रो भएको खण्डमा दशौं हजार जनता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन ।’, वडा अध्यक्ष सुवेदीले बजेटको आकार सानो र भूगोल ठूलोहुँदा जनताको इच्छा अनुसार काम छिट्टो काम गर्न गाह्रो भएको प्रतिक्रिया दिए ।

यस वडाले चालु आर्थिक वर्षमा विभिन्न १२ वटा स्थानमा गरी एकहजार आठसय ७९ मिटर स्याल्यब ढलान गरिसकेको छ । करिब ६० लाख ५० हजार रुपैयाँ स्ल्याब ढलानमा खर्च भएको बताइएको छ । ‘हामीले स्थानीय क्षेत्रमा रहेका क्रसरहरुबाट समेत यस कार्यका लागि आवश्यक सहयोग लिएका छौं ।’, उनले भने ।

उनले लेकपानीबाट हेटौंडा–१९ र १ नम्बर वडाको नकौली तथा भैरवडाँडाका लागि आवश्यक बृहत् खानेपानी पानी योजना निर्माण गर्न सकेको खण्डमा यस क्षेत्रमा खानेपानीको समस्या समाधान हुने बताए । आगामी आर्थिक वर्षमा हामीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१९ स्थित लिपुडाँडामा पार्कसहितको सार्वजनिक शौचालय निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको सुवेदीले जानकारी दिए ।

वडा कार्यालयले सञ्चारकर्मीसहित चालु आर्थिक वर्षमा भएको विभिन्न विकास निर्माणको कामको समेत अनुगमन गरेको छ । अनुगमन टोलीमा वडा सदस्यहरु बाघसिं स्याङ्तान, पूर्णबहादुर ब्लोन, इन्दिरा तामाङ र शान्ति विक, वडा सचिव बसन्तकुमार सिटौला तथा ओभरसियर विनोद चौलागाईंलगायत सहभागी थिए । अनुगमन टोली हेटौंडा–१९ नम्बर वडाको सडक, खानेपानी, पर्यटकीय क्षेत्र तथा क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।