प्रचण्ड कमरेड ! सप्रिने कि सक्किने ?

प्रचण्ड कमरेड, अहिले प्राप्त उपलब्धि र सरकारका तमाम सकारात्मक पक्षहरुलाई बेस्सरी समात्नु पर्ने हो तर तपाईं आफैँ ओली सरकारविरुद्ध परोक्ष र प्रत्यक्ष रुपमा घुँडा धसेर लागिपरेको यस लेखलाई राम्ररी थाहा छ । अब विगतमा झैँ दुई नेताका बीच उत्पन्न अन्तविरोधमा खेलेर आफूलाई अब्बल नेता बनाउने क्षणिक खेल नखेले हुन्छ 

प्रा.डा.बद्रीविशाल पोखरेल

विश्वको तेस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष भएका पुष्पकमल दाहाल, प्रचण्ड आफैँले आफूलाई आरोहण वा अवसान कुन स्तरमा पुर्याउने हो ? एकपल्ट गम्भीर भएर सोच्नुपर्ने स्थिति देखिन्छ । नत्र कार्यकारी अध्यक्ष भएर पनि गरेका गतिविधिबाट उहाँको आफ्नै व्यक्तित्व विघटनको गम्भीर अवस्थामा पुग्ने निश्चित जस्तै छ । तपाईंलगायत उपल्ला तहका केही नेताको अस्थिर, अनुशासनहीन र अराजक गतिविधिलाई एकटक लगाएर हेरिरहेको र तिनमाथि सुधारात्मक लेख लेखिरहँदा पनि स्थिति यथावत देखिन्छ । त्यसैले यो लेखक माओले भनेझैँ अब अलि कडा आलोचना गर्न विवश भएको छ ।

कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्या समाधान गर्न सहज भूमिका निर्वाह नगरी उल्टो विवाद बल्झाएर धमिलो पानीमा माछा मार्न खोजेको स्थितिबाट तपाईमाथि फेरि लेख्न बाध्य भइयो । कर्णाली प्रदेशको एकमुष्ट र समग्र समाधान गर्ने कुरामा विशेष ध्यान नदिई मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रमुख सचेतक गुलाबजंग शाह दुवै अभियुक्तमध्ये एकलाई समग्र सफाई र अर्कोलाई समग्र धुलाइ गर्नुभयो । एउटै प्रकृतिका दुई अपराधीलाई राणाकालमा जस्तो बाहुन भएकाले चारपाटा मुडेर छाड्ने र अर्कोलाई गोली ठोक्ने गरेजस्तै यो कालमा पनि त्यस्तै गर्न सुहाउँछ कमरेड ? त्यति मात्र होइन, औसर खोजीखाजी ओली सरकारविरुद्ध निरन्तर गोप्य वा खुल्ला रुपमा तपाईंसहित लागेको प्रमाण यस लेखकसित सुरक्षित छ । राजनीतिक विषयमा प्रायः मौन रहन मन पारउने राधिका शाक्यले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पृष्ठभूमिमा तपाईको असिनपसिन हुँदै गरेको रातदिनको दौडधूपबारे बोल्न विवश हुनुभयो ।

महान लेनिनले सुधारिएको गल्ती बिलाएर जान्छ, नसुधारिएको गल्ती कुहिएर जान्छ भन्नुभएको छ । नभन्दै कुहिएको गल्ती र यस्तो गल्ती गर्ने नेतालाई आगामी पुस्ताले सदा सराप्छ । नेपालमा नै पनि उग्रवाद र अवरसरवादका कारण खास समयमा एउटा महत्वपूर्ण उचाइ बनाएका नेताहरु स्खलित भएका छन । तीमध्ये मैनाली बन्धुहरु दरवार र घरवारका टाट्नामा बसेर नेकपाकै विरुद्ध प्याँप्याँ गरिरहेका छन । प्रचण्ड कमरेड, तपाईंको विगत र वर्तमान विषय यस लेखकले समग्र थाहा पाएको छ । राजनैतिक विश्लेषक भरत दाहालबाट पनि तपाईंका बारेमा धेरै जानकारी लिएको छ । तपाईंभित्र हालसम्म विद्यमान उग्रवादी र अवसरवादी व्यवहार पनि थाहा छ । तर उग्रवाद र अवसरवाद सप्प्रिने कम र सक्किने धेरै सम्भावना हुन्छ । उग्रवामपन्थ समय क्रममा उग्र दक्षिणपन्थमा परिणत हुन्छ भन्ने ज्वलन्त उदाहरण तपाईका प्रिय सहयात्री डा. बाबुराम भट्टराई नै हुन ।

माओले भनेझैँ प्रतिभाशाली नेताहरुका अभावमा समाज दृढताका साथ संघर्ष गर्न र विजय प्राप्त गर्न सक्तैन । प्रमुख नेतृत्वमा हुनैपर्ने यस्तो प्रभाव विचार, सिद्धान्तलगायत कम्युनिष्ट आदर्शमा निहित हुन्छ । तर माओवादी जनयुद्ध सुरु गर्दाताकादेखि पछिसम्म पार्टीले लिएका छिनछिनमा फेर्ने अस्थिर नीति, कार्यनीतिबाट तपाईंको सैद्धान्तिक ढुलमुल अवगत हुन्छ । अझ ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन सम्झौतामा अन्त्य भएको भोलिपल्ट नै समझदारीविरुद्ध सशस्त्र संघर्ष गर्न तपाईंले गरेको आह्वान ठोश परिस्थितिको ठोश विश्लेषणसित किमार्थ मेल खाने खालको थिएन । र कसैले सुनेन पनि ।

माओले भनेझैँ तपाईले बेस्सरी समात्न ध्यान दिनुपर्ने देखिन्छ । प्रचण्ड कमरेड, अहिले प्राप्त उपलब्धि र सरकारका तमाम सकारात्मक पक्षहरुलाई बेस्सरी समात्नु पर्ने हो तर तपाईं आफैँ ओली सरकारविरुद्ध परोक्ष र प्रत्यक्ष रुपमा घुँडा धसेर लागिपरेको यस लेखलाई राम्ररी थाहा छ । अब विगतमा झैँ दुई नेताका बीच उत्पन्न अन्तविरोधमा खेलेर आफूलाई अब्बल नेता बनाउने क्षणिक खेल नखेले हुन्छ । यो हिजो माओवादीको जनयुद्ध कालको जस्तो बन्द अवस्था र पार्टीमा बलशाली कब्जा गरेको जस्तो अवस्था होइन । खुल्ला राजनीतिक अवस्थामा विगतका जस्ता राजनीतिक चाकाचुली खेल्न थाल्दा आफ्नो व्यक्तित्व चरम रुपमा विघटित हुने अवस्था तपाईंले बेलैमा बुझ्न जरुरी देखिन्छ ।

नेता हरिबोल गजुरेलले प्रचण्डका भनिएका केही जीहजुरियाहरुले उहाँलाई गलत सल्लाह दिएको यथार्थ सत्य बताउनु भएको छ । नेता मणि थापाले पेरिस डाँडामा कलाकार भेलामा पार्टी एकीकरण सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यबारे दूरगामी महत्वको विचार व्यक्त गर्नुभएको थियो । थापाले पार्टी एकीकरणमा समाविष्ट विजातीय तत्वलाई सजातीय तत्वले नियन्त्रित गर्नुपर्छ र प्रतिक्रियावादीहरुले विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनभित्र खेलेर क्षतविक्षत पारेको यथार्थता राम्ररी बुझेर अगाडि बढनु पर्छ भन्नुभएको थियो । हुन पनि अमेरिकी जासुसी संस्था सिआइएले संसारभरी कम्युनिष्ट पार्टीलाई अनेक तरहले ध्वस्त पार्न करीव एक हज्जार जति कथित कम्युनिष्ट पार्टी स्थापना गरेको र यसरी नै पार्टीभित्र घुसपैठ गराएको जानकारी यस लेखकले थाहा पाएको छ । नेपालमा त्यस्तो नहोस । तर यस लेखकलाई उपल्ला तहका केही नेताहरुको बोली र व्यवहार अचम्म र उदेकको देख्दा तिनीहरु प्रायोजित छन कि भन्ने लागेको छ ।

राजनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखको भ्रमण विशेष उछाल्नुपर्ने विषय नरहेको बताए । माननीय मन्त्री हृदयेश त्रिपाठीले पनि नेकपाका केही नेता अनावश्यक विवाद सिर्जना गरिरहेको बताउँदै थिए । नेकपाका नेता तथा राजनैतिक विश्लेषक साध्यबहादुर भण्डारीले एक अन्तर्वार्तामा ओली सरकारलाई असंयमित कटु आलोचना गरे, पुछारमा मसिनो स्वरमा समर्थन गरे । कुन विषय र कुरा कुन सिलसिलामा कसरी समेत भन्न समेत सिकाउनु पर्ने देखियो । भण्डारीले भारतीय गुप्तचर ‘रअ’का प्रमुखको नेपाल आगमनले व्यक्ति हत्यासम्मको आशंका गरे अनि अन्त्यमा फेरि त्यसको खण्डन गरे । त्यसैगरी कुलमान घिसिङलाई अतथ्य रुपमा देवत्वकरण गर्ने र विश्वव्यापी महामारीका सन्दर्भमा सरकारले गरिरहेको उपचार व्यवस्थामा पनि हावादारी पारामा विशेषतः प्रधानमन्त्री ओली विरुद्ध सडकका बर्दीधारी साइबर सेनालाई उकास्न र उत्तेजित बनाउन भगीरथ प्रयत्न गर्ने पार्टी प्रवक्ता काजी कामरेड र लीलामणि पोखरेलका अरु कुरा कसरी पत्याउनु ? यी नेताहरुलाई सयपल्ट नाप अनि मात्र काट भनेको कुरा राम्ररी सम्झाउनु पर्ने देखियो ।

प्रचण्ड कमरेड, सही माक्र्सवादी विचारक जीवित हुँदा जीवन्त र नहुँदा अजर अमर हुन्छ । पार्टी संस्थापक महासचिव कमरेड पुष्पलाल र उहाँले लिएको नीतिलाई भद्दा आक्षेप लगाउने तत्कालीन उग्रवादी ज्येष्ठ कम्युनिष्टहरु अहिले पश्चात्ताप गर्दै घोप्टो परेर रोई रहेका छन । प्रजातन्त्रलाई प्रतिक्रियावादी, बहुदललाई साम्राज्यवादी भन्ने हामीहरु अहिले त्यति बेला उग्रवामपन्थको भड्काउमा परेको महसुस गरिरहेका छौँ । एक समय जनताको बहुदलीय जनवाद (जवज) लाई हरियो घाँसमा लुकेको सर्प भन्नेहरु पार्टीको अन्तरिम विधानको पेटबोलीमा जबजकै मान्यता हुबहु उल्लेख गर्न बाध्य भएका छौँ । तैपनि नामका सबालमा उग्रवादी आग्रहका कारण जबज अहिले पचेको छैन । तर अहिले पनि देशव्यापी रुपमा पार्टीको जनाधार खोज्दा जननेता मदन भण्डारी र जबज नै भेटिन्छ र पाइन्छ । अरु त दिउँसै राँको बालेर खोजे पनि पाइन्न ।

आर्थिक र राजनैतिक अधिकारसहितको बहुदलीय प्रतिस्पर्धाको नेपाली समाजवाद निर्देश गर्ने जबज पूर्वएमालेका केही औसरवादी र उग्रवाम प्रवृत्तिका नेतालाई तत्काल स्वीकार्य भएको छैन । जननेता मदन भण्डारी नै पनि पूर्वमाले कालका प्रारम्भिक दिनमा उग्रवाद व्याप्त रहेको पाइन्छ । उहाँ भूमिगत कालमा ‘…सामन्तलाई नगिँडी’ जनक्रान्ति पूरा हुँदैन भन्ने झापाली गीत प्रायः गाउनु हुन्थ्यो । समयमै वैचारिक अन्तरक्रिया सघन रुपमा गर्न सकिएन भने यो उग्र दक्षिणपन्थको भासमा भासिने निश्चित छ । माओले भनेझैँ पुरानै शाषक र शाषन व्यवस्थाका संस्कार, विचार र पुरानै उग्रवादी रागबाट प्रचण्ड आफैं मुक्त हुनुपर्छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभामा २०७५ चैत्र १५ गतेको दिन युद्ध भन्दा राजनीतिक लडाईं जटिल रहेको यथार्थता बोध गरेको तपाईंले बताएअनुसार अवसरवाद र उग्रवादबाट मुक्त भएर पदीय दायित्व निर्वाह गर्नु होस ।

पार्टीको कार्यकारी अध्यक्ष भएपछि गर्नुपर्ने काममा तपाईं लागिरहनु भएको छैन । पूर्वमाओवादीका कारण पार्टी अझै माथिदेखि तलसम्म एकीकृत भएको छैन । पार्टी सचिवालय अनुसार पार्टी परिचालित नहुनु अब तपाईको कमजोरी हुनेछ । पार्टीमा ३२ वटा विभागहरु अझै अपूरा, अपाङ्ग छन् । मातहत समितिलाई सर्कुलरमार्फत निर्देशन गर्दा धेरै काम व्यवस्थित हुन्छ । यी सबै कामको जस पार्टी अध्यक्ष ओलीलाई जान्छ भनेर तर्सिनु पर्ने कुनै कारण छैन 

पार्टीको कार्यकारी अध्यक्ष भएपछि गर्नुपर्ने काममा तपाईं लागिरहनु भएको छैन । पूर्वमाओवादीका कारण पार्टी अझै माथिदेखि तलसम्म एकीकृत भएको छैन । पार्टी सचिवालय अनुसार पार्टी परिचालित नहुनु अब तपाईको कमजोरी हुनेछ । पार्टीमा ३२ वटा विभागहरु अझै अपूरा, अपाङ्ग छन् । मातहत समितिलाई सर्कुलरमार्फत निर्देशन गर्दा धेरै काम व्यवस्थित हुन्छ । यी सबै कामको जस पार्टी अध्यक्ष ओलीलाई जान्छ भनेर तर्सिनु पर्ने कुनै कारण छैन । पार्टी नेताको एउटा बोली, वचन, भाषण, देश, जनता र नेता–कार्यकर्तालाई उत्साहित गर्ने खालको हुनुपर्यो । यो सरकारले अढाइ वर्षका अवधिमा निम्न र निम्न मध्यम वर्गका जनताका लागि ५ लाख घर निर्माण गरिदिएको छ । आनी छोइङले तुइन विस्थापित गर्ने ओली सरकारलाई १ करोड आर्थिक सहयोग गरिन तर तपाईहरु भएका काम केही नदेख्ने अनि यो सरकारले आजै समाजवाद ल्याएन भनेर आम जनतामा चरम निराशा पस्किँदै हुनुहुन्छ ।

यस्ता कुराहरु तपाईं र तपाईका लबीका ओली फोबिया नेपाल समूहमार्फत बन्द गराउनु होस । यो लेख एउटा अग्रिम सचेतना हो । हिटलरले एक प्रसंगमा आफूलाई कसैसित डर लाग्दैन, तर यही हलको पुछारमा बस्ने लुरे लेखकदेखि भने डर लाग्छ भनेका थिए । असत्यलाई पराजित गर्न एउटा लेखक ज्यानको बाजी लगाएर लाग्छ । कमरेड पानी पकाएर बाक्लो हुँदैन, मानिस फकाएर आफ्नो हुँदैन । अनि पहिलेझैँ हप्काएर कोही कसैको अदबमा बस्तैन । जननेता मदन भण्डारीले भनेझैँ राम्रो काम पनि राम्रै तरिकाले गर्नुपर्छ । कलात्मक हस्तक्षेप गर्ने हो, कुरुप होइन । महान लेनिनले गल्ती नगर्ने मान्छे होइन, अझ गल्ती दोहोर्याउने त झन मान्छे नै होइन भनेझैँ महान हुने प्रयत्नमा ढिलाइ नगर्नु होस । पार्टीको माथिल्लो र तल्लो तह हेर्दा तपाईको राजनीतिक जीवन खस्किँदो देखिन्छ र यसले सक्किने अवस्था सन्निकट देखाउँछ । समयले कसैलाई पर्खदैन । सभार जनता टाइम्स