बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर रुपले घाइते


रौतहट १३ कात्तिक । बारा जिल्लामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर रुपले घाइते भएका छन् ।
तस्करहरुले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको प्याज प्रहरीले जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउन लागेपछि स्थानीय र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका हुन् ।

बाराको सिमावर्ती सुवर्ण गाउँपालिका वडा नम्बर २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालयले अगाडी झडप हुँदा प्रहरीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको थियो ।

स्थानीयहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीलाई स्थितलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नुपरेको थियो । सोहि क्रममा एक १४ वर्षीय बालकको टाउकोमा गोलि लागेको बताइएको छ ।

घाइते भएका बालक सोहि वडा बस्ने रञ्जनकुमार यादव रहेका छन् । उनको अहिले वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार चलिरहेको छ । बालकको अवस्थापनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन् ।

स्थानीयको ढुंगाुमढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । घाइते तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

बुधबार राति साढे ८ बजेतिर तस्करहरुले चार वटा मोटरसाइकलमा भारतबाट ८ बोरा प्याज ल्याउन खोज्दा प्रहरीले सामग्री नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको सामग्री प्रहरीले जफत गरेर सदरमुकाम कलैया पठाउन खोज्दा झडप भएको स्थानीयहरुले बताएका छन् । झडपमा स्थानीयहरुले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको थियो ।

तस्करहरुले प्रहरीमाथि आक्रमण गर्दा स्थितलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाउनु परेको यादवले बताए । गोलि चलाउँदा हुलुमुलमा परेका बालकलाई गोलीको छर्रा लागेको जानकारी दिए ।