सर्लाहीमा चल्यो बारा र पर्साको जस्तै हावाहुरी, एक जनाको मृत्यु

540

सर्लाही, २३ चैत । सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ ।

हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा मृत्यु भएको छ ।जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ ।

हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको छ ।शनिबार बिहानदेखी नै सर्लाहीको मौसम खराब रहेको छ। मौसम खराबीका कारण गर्दा सर्लाहीका विभिन्न स्थानमा हावासहित पानी परेको छ। अघिल्लो साता बारा र पर्सामा हावाहुरीले बितन्डा मच्चाएपछि हावा आउनसाथ तराईंमा त्रास बढ्न थालेको छ।