रौतहटमा पनि देखियो सलह किरा किसान चिन्तित


रौतहट । असार १३ गते

भारत हुँदै भित्रिएको बाली विनाशक कीरा सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् ।
लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पलिकामा देखिएको छ ।
जिल्लाको उत्तरीभेग चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलह कीरा देखिएको हो । गुजरा नगरपालिका वडा ३ मा सलह कीराको ठुलो झुन्ड देखिएको स्थानीय समाजसेवी शिव पराजुलीले जानकारी दिए ।
कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह कीरा आएको बताएका छन् । ‘सलह कीरा शनिबार बिहान रौतहटमा पनि आएको छ । तर हालसम्म कुन स्थानीय तहमा आएको भन्ने यकिन भइसकेको छैन’ प्रमुख झाले बताए । यो किरा बारा, पर्सा र सर्लाहीको केही ठाउँमा पनि देखिएको छ ।