१८ लाखबढी नेपाली नक्कलीनोट सहित यादव पक्राउ

रौतहट १९ पुस।
रौतहटमा १८ लाख भन्दा बढि नेपाली नक्कली नोट सहित एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो। उनको साथ बाट नेपाली १ हजार दरको १८ सय ४३ थान १८ लाख ४३ हजार नक्कली नोट बरामद भएको एस्पी महेन्द्र कुमार श्रेष्ठले बताएका छन। बिशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथ बाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम,१६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ।
अभियुक्त यादव नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा बुधबार पक्राउ गरिएको एस्पी श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन।
उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।