अर्का सांसदले पनि छाडे प्रचण्ड–माधवको साथ, प्रधानमन्त्री ओलीतिरै लाग्ने गंगा चौधरीको घोषणा

काठमाडौं, फागुन १८ । प्रतिनिधिसभा सदस्य गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आएमा आफ्नो साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हुने प्रष्ट संकेत गर्नुभएको छ ।
प्रतिनिधिसभा बिघटन भएलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षमा रहेर प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी चौधरीले फेसबुकमा व्यक्तव्य दिएर यस्तो संकेत गर्नुभएको हो ।

उहाँले ६५ वर्षमाथिका पूराना नेताको विदाइ र दोस्रो पुस्ताले पार्टी एकता बचाउन आग्रह पनि गर्नुभएको छ । उहाँले पार्टी एकता बचाउन नसकेर पार्टी अन्तिममा फुट्ने अवस्था आउँदा एउटा पक्षलाई साथ दिनुपर्ने र त्यो अवस्थामा आफ्नो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने नेतालाई हुन्छ भन्दै ओली पक्षमा लाग्ने घोषणा गर्नुभएको छ ।

‘कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने,राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने, दुवै मित्रराष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको, जनजिविकिकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको पक्षधर,मुलुकको विकास र समृद्धिको लागि खरो उत्रने सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ,’ सांसद चौधरीले लेख्नुभएको छ ।

चौधरीले सरकार र पार्टीको नेतृत्व गरिसकेका ६५ वर्षमाथिका नेताहरुले संयुक्त वक्तव्यमार्फत स्वेच्छिक रुपमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी पार्टीको संरक्षक सल्लाहकारको भूमिका रहन सुझावसमेत दिनुभएको छ । पछिल्लो समय उहाँ प्रधानमन्त्री ओली निकट नेताहरुसँग संवादमा हुनुहुन्थ्यो । प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी कार्यक्रम बहिस्कार गरेका बेला उहाँ दाङको सिसहनीयामा निर्मित पुलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै देखिनुभएको थियो ।

पछिल्लो समय प्रचण्डले भारतको लागि कम्र्फटेवल सरकार बनाउने बताएपछि चौधरीले यस्तो बक्तब्य दिएर आफू ओलीतिर उभिने प्रष्ट घोषणा गर्नुभएको छ । चौधरीले आफू पार्टी एकताको पक्षमा रहेको तर आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को बनाउने र पार्टी फुटाउने अवस्थामा साथ नरहने प्रष्ट पार्नुभएको छ । साभार जनता टाइम्स