मौलापुर पुुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञको तयारी पुरा

अगम कुमार उपाध्याय
रौतहट,फागुन १७ गते ।
स्थानिय मौलापुर नगरपालिका स्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा महा शिवरात्री पर्वको अवसरमा हुन लागेको मधानी महायज्ञको तयारी पुरा भएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञ लगायतका कार्यक्रम बारे आयोजक मौलापुर नगरपालिकाले जानकारी दिएको छ ।
महा शिवरात्रीको अवसरमा मधानी महायज्ञका साथै भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनलागेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालले बताउनुु भयो । पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना हुने उक्त मेलाको अवसरमा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।
ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने उपमेयर जयसवालले जानकारी दिनुु भयो । फागुन २६ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ । सोही दिन दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।
साथै फागुन २६ गते देखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिनुुु भयो । साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।
गत वर्ष पनि फागुनमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पुजा गरेकी थिइन् ।
मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभुु साहको पहलमा गतबर्ष देखी मौलापुर पतौरा स्थित पुरातात्विक महादेव मन्दिरमा महायज्ञको आयोजना हुँदै आएको छ ।
देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत पुरातात्विक मन्दिर छनोट भएको छ ।