न्यायीक समितिको काम प्रभावकारी हुन सकेन नेता साह


रौतहट । भदौ २६ गते
जनता समाजवादी पार्टीका प्रभावशाली नेता लीला प्रसाद साहले रौतहटको माधवनारायण नगरपालिकाको न्यायीक समितिको काम प्रभावकारी हुन नसकेको बताएका छन ।
नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले बजेट बाँडफाँड र बजेट चलाउने तिर मात्रै केन्द्रित हुँदा न्यायीक समितिको काम कार्यवाही प्रभावकारी हुन नसकेको नेता साहले आरोप लगाएका हुन ।
माधवनारायण नगरपालिकाको मेयरका प्रत्याक्षी समेत रहेका जस्पा नेता साहले पत्रकार संगको कुराकानीमा उपमेयर सिमल साहले जनताको समस्या समाधान गर्न नसकेको बताएका छन ।
उपप्रमुख साहले जनताको समस्या भन्दा बजेट बाँडफाँड गर्ने तिर मात्र ध्यान दिएकोले स्थानीय स्तरमा जनताको समस्या समाधान हुन नसकेको उनले बताए ।
उपमेयरमा अदभुत शक्ति भए पनि उनलाई आफनै शक्तिको बारेमा थाहा नभएको उनको ठम्याई छ ।
नेपालको संविधानले स्थानीय स्तरमा हुने झै झगडा र वाद विवाद स्थानीय सरकारमै समाधान गर्ने अधिकार उपमेयरलाई दिएपनि उपमेयरले ति समस्याहरु समाधान गर्न नसक्दा जनतालाई न्यायको लागि अदालत र जिल्ला प्रहरीमा नै जानुपर्ने बाध्याता कायमै रहेको उनले बताए ।
नगरपालिकामा उप प्रमुख साहको संयोजकत्वमा तिन सदसीय न्यायीक समिति गठन भए पनि जनताको समस्या बुझन उपमेयरलाई फुर्सत नहुने गरेको कारणले पनि स्थानीय सरकारबाट जनता न्याय पाउन नसकेको नेता लीला साहको आरोप ।
स्थानीय तहले दिने न्याय प्रभावकारी हुन नसक्दा जनता अन्यौलमा परेको उनले बताए ।
स्थानीय तहको संरचना तयार भएपनि न्यायिक समितिले काम गर्न नसक्दा न्यायिक प्रकृयाका लागि सर्वसाधारणले अदालत धाउनुपर्ने बाध्यता कायमै रहेको नेता साहले बताए ।
न्यायिक प्रक्रियाले गति नलिँदा स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने न्यायिक प्रकृया बिश्वासिलो हुन नसक्दा सर्वसाधारण जनता अदालतको ढोका ढककढ्याउन बाध्य भएको उनले बताए ।
जिल्लाको अन्य स्थानीय तहहरुमा समेत गठन भएका न्यायिक प्रक्रियाले गति लिन नसकेका कारण जनता सिंहदरबारको अनुभुति गर्न नपाएको उनको बुझाई छ ।
स्थानीय तहको न्यायिक अधिकारका बारे जानकारी, कानूनको ज्ञान भएका कर्मचारीको अभाव र भौतिक संरचना जस्ता कारणले न्यायिक समितिले प्रभावकारी कामगर्न नसकेको स्थानीय तहका प्रतिनिधिहरुले बताएका छन ।
जसपा नेता लीला साह उपमेयर सिमल साह जनताको न्याय दिलाउन नसकेको आरोप लगाएपनि उपमेयर साहले आफु जनताको न्यायको लागि कहिले पनि पछि नपरेको बताएकी छिन ।
आफुले स्थानीय तहमै जनताको समस्या समाधान गर्न र न्याय दिलाउन हरसम्भव प्रयासरत रहेको उपमेयर सिमल साहले दावी गरिन ।
स्थानीय तहमा रहेको न्यायिक समितिमा दर्ता भएका उजुरीहरूलाई अदालती शैलीमा काम गरी उजुरीको किनारा लगाउनु पर्ने भएता पनि न्यायिक समितिमा आवश्यक कर्मचारी र छुट्टै इजलास नभएकाले मुद्धाको किनारा लगाउन अलि समस्या भइरहेको न्यायिक समिति संयोजक साहले बताइन ।