रौतहट । भदौ २२ गते
कोरोना भाईरस विपद न्यनीकरण समन्वय तथा अनुगमन समिति निजगढको अनुगमन समितिले होटेल, रेस्टुरेन्ट र पसलहरुमा अनुगमन शुरु गरेको छ । निजगढ नगरपालिकाको नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछाने सहितको समितिको टोलीले पुर्वपश्चिम राजमार्गको दायाँबायाँ क्षेत्रमा सञ्चालित सबै व्यवसायहरुको अनुगमन गरेको हो । अनुगमनमा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल र अन्य व्यवसायीकोसमेत सहगागिता रहेको थियो । अनुगमन समितिले यस क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा पसलमा पुगेर निजगढ नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार सुरक्षा मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको थियो । निजगढ नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार व्यवसाय सञ्चालन गराउन अनुगमन शुरु गरिएको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताउनुभयो । उहाँले आगामी दिनमा पनि व्यवसायीले सुरक्षा उपाय पुरा गरे नगरेको हेर्न पसल व्यवसायमा नियमित रुपमा अनुगमन गरिने पनि बताउनुभयो ।नगरपालिकाकाले कोरोना भाइरस जोखिम न्युनीकरणका लागि होटेल, रेस्टुरेन्ट, पसल, अन्य व्यवसाय र बैङ्क तथा वित्तिय संस्था सञ्चालन कार्यविधि २०७७ जारी गरेर सोहीअनुसार सुरक्षा प्रवन्ध मिलाएर व्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । व्यवसायीहरुले कार्यविधिले तोकेको सुरक्षा मपदण्ड पुरा गरेर बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय संचालन गर्न पाउने छन । कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले नगरपालिकाका अधिकृत ऋषव काफ्लेको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन भएको छ ।