राज्य मन्त्री यादवको पहलमा डुबेर मृत्यु भएका परिवारलाई राहत

रौतहट भदौ १० गते

रौतहटको बागमती नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारहरुलाई प्रदेश २ सरकारले रु एक–एक लाख रुपैया राहतस्वरुप प्रदान गर्ने भएको छ । ऋषिपञ्चमीको अवसरमा गत आइतवारका दिन रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन जाँदा एउटै गाउँका तिन जना बालिकाको डुबेर मृत्यु भएको थियो । प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहलमा मुख्यमन्त्री लालबावु राउतले नदीमा डुबेर मृत्यु भएका तिनै जना बालिकाको परिवारहरुलाई तत्कालको लागि एक एक लाख रुपैया क्षतिपुर्ति उपलब्ध गराउने घोष्णा गरेका छन । नदीमा पौडी खेल्ने क्रममा धर्मपुरका भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही ठाउँ बस्ने छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको डुबेर मृत्यु भएको थियो । मुख्यमन्त्री राउतले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पीडित परिवारहरुलाई तत्काल राहत स्वरुप एक एक लाख गरी तिन लाख रुपैया सहयोग गर्ने घोष्णा गरेका हुन । रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद योगेन्द्र यादवले पिडित परिवारहरुलाई आर्थिक सहयोग गर्न मुख्यमन्त्री राउतलाई आग्रह गरेपछि बल्ल मुख्यमन्त्री राउतले आज एक विज्ञप्ती मार्फत पिडित परिवारहरुलाई आर्थिक सहयोग गर्ने घोष्णा गरेका हुन । मुख्यमन्त्री राउतले बालिकाहरुको मृत आत्माको चिर शान्तीको कामना गर्नुका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।