हुप्रचौरमा प्याराफिट बनाउन माग

हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएको छ ।

हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा भेला भएर आएका विभिन्न खेलकुदसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा खेलाडीहरुले सोमबार हेटौंडा उपमहानगरपालका र प्रदेश सरकारको बजेटबाट बनाउन लागिएको प्याराफिटलाई कुनै पनि हालतमा बनाउन जरुरी रहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । सम्पूर्ण खेलकुद संघसंस्थाको तर्फबाट जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले मेयर महतलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदै लामाले मकवानपुर खेलाडी उत्पादनको उर्वरभूमि रहेको कारण हुप्रचौरमा व्यवस्थित प्याराफिटको आवश्यकता रहेको र जसरी पनि उक्त प्याराफिट बनाउन जरुरी रहेको बताए । ज्ञापनपत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानीयको भनाईलाई आफूले कदर गर्ने बताए । हुप्रचौरलाई खुला नै राख्ने गरी आफूहरुको भौतिक पूर्वाधारको निर्माण गर्न लागेको मेयर महतले बताए ।